रेणु मेयर भएकाले भरतपुर महानगर विकासमा संसारको उत्कृष्ट भयो : प्रचण्ड

नेपालखोज २०७८ चैत ११ गते १५:१४

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताएका छन् । शुक्रबार भरतपुरमा महानगरको प्रशासकीय भवनको शिलान्यास कार्यक्रममा विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकाला‍ई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने गरेको उनले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाको विकासमा मेयरको सकारात्मक सोचले काम गरेको बताएका छन् । राष्ट्रिय राजनीतिमा पार्टीहरू एकजुट नभएपनि भरतपुरमा मेयरले आफ्नो नेतृत्वमा सबै पार्टीलाई एकजुट बनाएर अघि बढाएको उनको दावी छ । उनले स्थानीय तहको चुनाव, प्रदेश र संघको चुनावमा फरक फरक गठबन्धन बनाएर चुनावमा जानुपर्ने परिस्थिति बनेपनि भरतपुर महानगरपालिका भने दलहरुबीचकाे सम्बन्ध अक्षृण रहेको बताए ।

एकता भरपुरमा कायम रहेको उनको दाबी छ । उनले भने, ‘यी विभिन्न परिस्थितिका बावजुद पनि भरतपुर महानगरपालिकामा एकता अक्षृण रह्यो । यो बीचमा प्राप्त थुप्रै सफलताको रहस्य मध्ये के हो भन्दा, देशमा आएको उतार चढाव, पार्टीहरूमा आएको उतार चढावहरु, एकता, समीकरण र विभाजनहरु, त्यसले राष्ट्रिय राजनीतिमा उत्पन्न गरेका तरंगहरु रहे, तर भरतपुर महानगरमा मेयरको नेतृत्वमा त्यो परिवार एक ढिक्का रहिरह्यो । त्यो एकता खलबलिएन् ।’

देशलाई नै भरतपुर महानगरपालिकाले एउटा रोडम्याप दिइरहेको उनको भनाइ छ । उनले भने, ‘तालमेल गरेर भएको निर्वाचनदेखि नै भरतपुर महानगरपालिका विशेष महत्वमा थियो । यसलाई अहिले पनि देशभरबाट विशेष महत्वले हेर्ने गरिन्छ । विकासले तिब्रता पाएको छ । चितवनले दुई पटक देशलाई नेतृत्व गर्ने प्रधानमन्त्री दिएको छ । चुनौतिहरूको बीचबाट त्यसबाट नेतृत्व गर्ने अवसर मलाई भयो । म यहाँको जनप्रतिनिधि भएकाले विकास परियोजनालाई तिब्रताका साथ अगाडि बढाइएको छ ।’

भरतपुरका जनप्रतिनिधिले आफ्नै आँखा अगाडि भएको विकासबारे भन्न समेत संकोच मानेकाे उनले जनाए । भरतपुरको विकासप्रति चिन्ताभन्दा पनि चुनाव लागेको उनको भनाइ छ । यस क्षेत्रमा भएको विकासलाई भन्न सक्नुपर्नेमा उनीहरूले चुनावी एजेन्डा बनाउन खोजेको आरोप लगाए । उनले महानगरको विकासको रहस्य मेयरमा रहेको सकारात्मक सोच नै मुख्य रहेको उल्लेख गरे । उनले भने, ‘भरतपुर महानगरको विकासको रहस्य मेयरको सकारात्मक सोचमा केन्द्रीत छ । अर्को दृढ इच्छा शक्ति हो । मैले भरतपुर महानगरपालिकाको मेयरको दिमागमा जतिबेलापनि महानगरपालिका र त्यो परिवारप्रति जहिलेपनि सकारात्मक सोच मात्रै भेटेँ । नेपाली कांग्रेसका धेरै वडाध्यक्ष छन्, एमालेका वडाध्यक्ष छन् ।’

प्रतिक्रिया