सोमबार, वैशाख १७, २०८१

पल शाह दोषी हुने यी हुन् ६ तथ्य, अब के होला ?

नेपालखोज २०७८ चैत ११ गते १९:२५

काठमाडौं । अभिनेता पल शाह र नाबालिग गायिका प्रकरणको छिनोफानो कस्तो होला ? कहिले होला ? भन्ने चासो सर्वत्र छ । चौबीस दिनसम्म अनुसन्धानको एउटा पाटो सकिएपछि भर्खरै मात्रै अभिनेता शाह पुर्पक्षका लागि थुनामा पठाइएका छन् । नाबालिग गायिकाले आफूमाथि जबर्जस्ती बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरेपछि प्रारम्भिक अनुसन्धानका क्रममा केही तथ्यगत आधार फेलापरेपछि पललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो ।

कलाकार शाहमाथि एक नाबालिग गायिकाले १२ देखि १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । बलात्कारको आरोप पुष्टि भए पललाई पीडित बालिकाले दाबी गरेझैं कैद सजाय हुने कानुनी प्रावधान छ । प्रारम्भिक सुनुवाइका क्रममै शाह बलात्कारमा संलग्न भएको आशंकामा बल पुग्ने प्रमाण भेटिएपछि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने निष्कर्षमा जिल्ला अदालत तनहुँ पुगेको बुझिएको छ ।

जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले पल प्रकरणको अनुसन्धानको निष्कर्ष सुनाएको हो । ढुंगानाको इजलासले विभिन्न ६ वटा तथ्यका आधारमा शाहलाई प्रारम्भिक रुपमा निर्दोष भन्न नसकिने निष्कर्ष निकालेको छ । शाहविरुद्ध जबर्जस्ती करणी गरेको भनी किटानी जाहेरी परेको, पीडित नाबालिकाले प्रहरीसँग आफूमाथि बलात्कार गरेको भनी बयान दिएको र स्वास्थ्य परीक्षण प्रतिवेदनलगायतले बलात्कार भएको प्रारम्भिक पुष्टि भएको अदालतले उल्लेख छ ।

आरोपित शाहले समेत आफू राति १२ बजे नाबालिगको कोठामा गएको अदालतसँग स्वीकार गरेका छन् । यो तथ्यले पल दोषी छन् भन्ने एउटा आधार तय हुने भएको छ । यस्तै पीडितले विभिन्न व्यक्तिहरूसँग आफू बलात्कारमा परेको भन्दै सरसल्लाह गरेर सहयोग मागेको जिल्ला अदालतको अर्को प्रमाण पनि पल दोषी हुने प्रमुख तथ्य हो । यी विभिन्न प्रमाणहरूका आधारमा पुर्पक्षका लागि थुनामा पठाउने अवस्था आएको अदालतको निष्कर्ष छ ।

जिल्ला अदालत तनहुँको आदेशमा ‘ललाइ–फकाई विवाह गर्छु भनी प्रलोभन देखाइ जबरजस्ती करणी गरेको देखिन आएकोले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई रितपूर्वक थुनुवा पुर्जी दिई कारागार कार्यालय, दमौली, तनहुँमा पठाइदिनू ।’ भन्ने उल्लेख छ ।

उता अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीमाथि बलात्कारको घटनामा मतियार बनेको पर्याप्त आधार भने भेट्न नसकेको बुझिएको छ । सबै विवरण हेर्दा जोशीको हकमा घटना विवरण कागज मात्रै भेटिएकाले थुनामै राख्नुपर्ने अवस्था नदेखिएको अदालतले औंल्याएको छ । पलका म्यानेजर जोशीको सम्बन्धमा अदालतको आदेशमा अन्य वस्तुनिष्ठ आधार प्रमाणबाट देखिन नआएको हुँदा निज प्रतिवादी (कृष्ण जोशी) लाई प्रस्तुत मुद्दामा थुनछेकको सन्दर्भमा थुनामै राख्नुपर्नेसम्मको अवस्था नदेखिएको उल्लेख छ ।

अदालतले जोशीसँग एक लाख रुपैयाँ धरौटी मागेको छ । भोलिका दिनमा अनुसन्धान गर्दै जाँदा थप प्रमाण फेलापर्ने सक्ने सम्भावनालाई अदालतले मध्येनजर गरेको छ । जोशी धरौटीमा छुटे पनि अदालतले पूर्ण रूपमा अनुसन्धान गरेर फैसाला नगरेसम्म दोषी हुन्–होइनन् थाह हुनेछ ।

जिल्ला अदालत तनहुँले पल शाहलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउनुपर्छ भन्ने आदेश गरेको छ । शाहविरुद्धको अर्को मुद्दा नवलपुर जिल्ला अदालतमा समेत विचाराधीन छ । अब प्रहरीले उनलाई नवलपुर जिल्ला अदालतमा पेस गरी तनहुँकै झैं प्रक्रिया दोहोर्याउने जनाइएको छ । अब नवलपुरमा अदालतले छाड्नू भन्ने आदेश गरेमा समेत शाह छुट्नसक्ने अवस्था छैन ।

पुपक्र्षका लागि थुनामा पुगे पनि अदालतको आदेश चित्त नुबझे पल शाह पुनः अदालत जानेसक्ने अवस्था छ । उनलाई तनहुँको आदेश चित्त नबुझेमा उच्च अदालत पोखरामा आदेश बदरको माग राखेर जान सक्छन् । यस्तै उच्च अदालतले तनहुँ जिल्लाको आदेशलाई हेर्दै त्यसैलाई सदर गर्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा छाड्ने भनी कुनै एक आदेश गर्नसक्नेछ । पल साँच्चै निर्दोष छु भनेर प्रमाणित गराउन चाहान्छन् भने उच्च अदालत पोखराको आदेशविरुद्ध समेत सर्वोच्च अदालत जान सक्नेछन् ।

शाहविरुद्ध बलात्कारको आरोपको मूल मुद्दा जिल्ला अदालत तनहुँमा अहिले विचाराधीन अवस्थामा छ । शाह पुपक्र्षमै रहेका बेला अदालतले अब पीडितको बयान लिने, साक्षी बकपत्र गर्ने, थप प्रमाण बुझ्नेलगायत काम गर्ने बताइएको छ । दुवै पक्षको बहसलगायत सबै प्रक्रिया पूरा भएपछि मात्रै जिल्ला अदालतले बलात्कारको आरोपमा शाह दोषी हुन् वा निर्दोष भनी फैसला गर्ने अदालत स्रोतले विभिन्न सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

प्रतिक्रिया