तीनदिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ नेपालमा

काठमाडाैं । तीनदिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आइपुगेका छन् । विदेशमन्त्री वाङ १९ सदस्यीय टोलीको नेतृत्व गर्दै शुक्रबार नेपाल उत्रिएका हुन् ।
चिनियाँ विदेशमन्त्री यीलाई परराष्ट्रसचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल डा. दुर्गाबहादुर सुवेदी, परराष्ट्र मन्त्रालय र यहाँस्थित चिनियाँ दूतावासका उच्च अधिकारीहरूले स्वागत गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा गएका छन् । उनी त्यही बस्नेछन् ।
वाङ सोमबार पाकिस्तान पुगेका थिए । उनी अफगानिस्तान, भारत हुँदै नेपाल आएका हुन् । उनीसँगै भ्रमण दलमा २५ सदस्यीय टोली रहेको बताइएको छ । आज उनको कुनै भेटघाट कार्यक्रम नरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव सेवा लम्सालले जानकारी दिइन् । भोलि बिहान वाङले सबैभन्दा पहिले नेपाली समकक्षी परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ताको कार्यक्रम छ । त्यसपछि प्रतिनिधिमण्डलबीच वार्ता हुने कार्यतालिका रहेको छ ।
भोलि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । त्यसपछि केही द्विपक्षीय सम्झौतामा हस्ताक्षर हुनेछन् । यस्तै आइतबार चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।
त्यसपछि पूर्वप्रधानमन्त्री प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ । मन्त्री वाङको औपचारिक भेटघाट भने शनिबारबाट मात्रै सुरु हुनेछ । वाङले शनिबार विहान शिवपुरीमा हाइकिङ गर्नेछन् ।

प्रतिक्रिया