माओवाद ब्राण्ड समातेर देश विकास हुँदैन : भट्टराई

नेपालखोज २०७८ चैत ११ गते २१:१२

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माओवाद ब्राण्ड समातेर देश विकास नहुने बताएका छन् । आज राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रको समसामयिक मुद्दाहरु र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको कार्यदिशामाथि छलफलमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्

उनले समय धेरै फेरि सकेको भन्दै अब मोओको अर्थ राजनीतिको पक्षबाट आर्थिक विकास हुन नसक्ने बताए । पूर्वप्रधानमन्त्री भट्टराईले माओवादीका नेताहरुलाई अब त्याङवादी भएर आर्थिक विकास र समृद्धिको बारेमा सौच्न पनि सुझाव दिए । उनले छिटो दुई अंकको आर्थिक वृद्धिदर हासिल गर्नको लागि, रोजगार सिर्जना गर्न र व्यापार घाटा घटाउन तथा तीव्र गतिले देश विकास गर्न हिजोको उदारवाद र साम्यवादको मोडेलभन्दा फरक ढंगले अघि जाने आँट गर्नुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री भट्टराईले अर्थतन्त्रलाई तथ्यांकको खेलबाट मुक्त गर्न युवा अर्थशास्त्रीहरुलाई सुझाव दिए । पूर्व प्रधानमन्त्री भट्टराईले अर्थतन्त्रलाई तीव्र गतिले रुपान्तरण गर्नका लागि औदोगिक रुपान्तरण गर्न आवश्यक रहेको बताए । उनले अहिलेको विश्व परिस्थिति, छिमेक र अहिलेको नेपालको अवस्थालाई ध्यान दिएर नीति बनाउनु पर्नेमा जोड दिए ।

पूर्व प्रधानमन्त्री भट्टराईले आर्थिक क्षेत्रमा भएको विगतको पदावली र शब्दावलीको घेरामा नपर्न पनि आग्रह गरे । उनले अबको विश्व भूमण्डलीकृत पुँजीवादको विश्व भएको र नेपाल किनारा पुँजीवादको वरपर रहेको बताए । उनले आर्थिक क्षेत्रलाई सुदृढिकरण गर्न पहिलो जोड वृद्धि र ध्यान वितरण, दिगोपन र खुशीपनमा ध्यान दिएमात्र देशको रुपान्तरण हुने बताए ।

उनले वकसित अर्थतन्त्रको औद्योगिकीकरण गर्न पहिले कृषिमा आश्रित जनसंख्यालाई घटाउनु पर्ने र आर्थिक क्षेत्रको सुधारका लागि राजनीति क्षेत्रलाई सुधार्नु पर्ने बताए । उनले आर्थिक विकास र देश विकासको लागि सके प्रत्यक्ष निर्वाचित राष्ट्रप्रति, प्रधानमन्त्री प्रणाली र पूर्ण समानुपातिक संसदमा जाने वा सहमतीय सरकार बनाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया