राजनीतिलाई कमाई खाने भाडो बनाउनेहरुका कारण जनतामा निराशा : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति विशुद्ध समाजसेवाको क्षेत्र भएको बताएका छन् । पछिल्लो समयमा राजनीतिलाई कमाई खाने भाडो बनाउनेहरुका कारण जनतामा राजनीतिप्रति निराशा छाएको उनले बताए ।
आज राजधानीको बानेश्वरमा ‘घर घरमा जाउ कांग्रेस जिताउ’ अभियानको क्रममा आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् । नेपालका कम्युनिष्ठहरुको दोहोरो चरित्रका कारण देशमा अस्थिरता निम्तिएको बताउदै उनले कांग्रेसले लिएको नीति र अडानकै कारण आजसम्मका हरेक राजनीतिक आन्दोलन सफल भएको र मुलुक अस्थिरतामा जानबाट जोगिएको बताए ।
सत्तामा रहेकाहरुले देशको हितलाई ध्यानमा राखेर काम गरेमा नागरिकले चाहे अनुसारको सम्वृद्धि प्राप्त गर्न सक्ने उनको भनाई छ । गठबन्धनको विषयमा धेरै कुरा उठिरहेकाले कुन परिस्थितिमा गठबन्धन निर्माण भएको हो त्यो पनि बिर्सन नहुने भन्दै नेता सिंहले गठबन्धनको विरोध गर्नु भन्दा पनि परिस्थिति ख्याल गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए ।
उनले मुलुकको आवश्यकतालाई हेरेर स्थानीय निर्वाचनमा गठबन्धनबारे कांग्रेसको केन्द्रीय समितिले निर्णय गर्नु पर्ने बताए । उनले स्थानीय निर्वाचन मा गठबन्धन के गर्ने भन्ने विषयमा केन्द्रीय समिति बैठक चलिरहेकाले कार्यकर्ता कांग्रेसका शुभचिन्तक र मुलुकको आवश्यकतालाई ध्यानमा दिएर कांग्रेसले उपयुक्त निर्णय लिने पनि बताए।

प्रतिक्रिया