मंगलबार, जेठ ८, २०८१

कारोना कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना अनिवार्य : अध्यक्ष तिमिल्सिना

नेपालखोज २०७८ चैत १२ गते १२:५०

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुलाई आग्रह गरेको छ ।

विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसख्या मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता ’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दैै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ संक्रमणको खतरा अझै कायम रहेकाले स्वास्थ्य मापदण्डको परिपालना गर्नुपर्ने बताए ।

जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्र्रह गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीबाट जोगिन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यक रहेको बताए । विश्वका कतिपय मुलुकहरुमा अझै कोभिड–१९ संक्रमणका कारण मानवीय क्षति भइरहेकाले नेपाललाई कोभिड–१९ मुक्त घोषणा नगरेसम्म सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताए ।

कोभिड–१९ संक्रमणको जोखिमलाई कम गर्न खोप लगाउने कार्यलाई तीव्र गति दिनुपर्ने बताउँदै अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा अझै खोप लगाउने दर बढ्न नसकेकाले यसलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपालस्थित विश्व स्वास्थ्य संगठन कार्यालयका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामका लागि नेपालमा भएको प्रयास प्रशंसनीय रहेको बताउँदै अझै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताए ।

नेपालमा कोभिड–१९ संक्रमणको दर घटे पनि जोखिम अझै कायम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सुझाव दिदै उनले खोप लगाएपछि कोभिडको कारण ज्यान जाने सम्भावना कम हुने भएकाले निर्धक्कपूर्वक खोप लगाउन आग्रह गरेका छन्।

प्रतिक्रिया