बिहीबार, जेठ २, २०८२

श्रीलंकामा चरम आर्थिक संकट, चीनद्वारा दुई हजार टन चामल सहयोग

नेपालखोज २०७८ चैत १२ गते १४:०३

कोलम्बो । चीनले गम्भीर आर्थिक संकटमा परेको श्रीलंकालाई आपतकालीन सहयोग स्वरुप दुई हजार टन चामल उपलब्ध गराएको छ । कोलम्बोस्थित चिनियाँ दूतावासले शुक्रबार वक्तव्य जारी गर्दै छिमेकी मुलुकको आधारभूत जिम्मेबारी स्वरुप दुई हजार टन चामल उपलब्ध गराइएको जनाएको हो ।

चीनले श्रीलंंकालाई उपलब्ध गराएको चामलको मूल्य झण्डै २५ लाख अमेरिकी डलर पर्ने पनि वक्तव्यमा उल्लेख गरिएको छ । मुलुकमा आर्थिक संकट उत्पन्न भएपछि विद्यार्थीको परीक्षाका लागि कागज किन्न समेत नसकेको श्रीलंकाले सहयोगका लागि सबैलाई अनुरोध गरेको थियो ।

श्रीलंकाको आग्रहकै आधारमा सहयोग उपलब्ध गराइएको पनि चिनियाँ दूतावासद्वारा जारी वक्तव्यमा लेखिएको छ । कोरोनाभाइरसको महामारी र त्यसपछिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न परिस्थितिका कारण श्रीलंका संकटमा परेको श्रीलंकाली अधिकारीहरूले दाबी गरेका छन् ।

चीन र श्रीलंकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५औँ वार्षिकोत्सव चलिरहेकाले दुई देशको सम्बन्ध निकै पुरानो भएकाले पनि चीनले सहयोग गर्ने दूतावासको भनाई छ । चीनले श्रीलंकालाई आफ्नो क्षमता अनुसार आर्थिक तथा सामाजिक विकासका लागि अन्य सहयोग पनि निरन्तर गर्ने जनाएको छ ।

प्रतिक्रिया