चिनियाँ राष्ट्रपति सी र बेलायती प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चीनका राष्ट्रपति सी चिन फिङसँग कुरा गर्दै युक्रेनको अवस्थासहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा छलफल गरेका छन् ।
‘नेताहरूले युक्रेनको अवस्थासहित पारस्परिक हितका विभिन्न मुद्दाहरूमा एक घण्टा लामो छलफल गरेको र उनिहरू पुनः छलफल गर्न सहमत भएको,’ बेलायती प्रधानमन्त्रीको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ । वार्ताको क्रममा प्रधानमन्त्री जोनसनले गत हप्ता चीनमा दुर्घटनाग्रस्त विमानका पीडितहरूप्रति सहानुभूति व्यक्त गरेका थिए ।
दुई देशबीचको राजदूत स्तरमा कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको स्मरण गर्दै सीले विगत आधा शताब्दीमा केही उतारचढावका बाबजुद पनि सम्बन्ध समग्रमा निरन्तर वृद्धि भएको बताएका थिए ।
सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार दुवै देशको घरेलु अवस्था र विकास मार्ग फरक-फरक रहेको उल्लेख गर्दै सीले दुवै पक्षले रणनीतिक र दीर्घकालीन अवस्थामा ध्यान दिनुपर्ने बताए । सीले चीन बेलायतसँग वार्ता र सहयोग गर्न इच्छुक रहेको समेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया