प्रधानमन्त्री देउवा एमालेको पाखुरा देखेर छक्क परे : केपी ओली

नेपालखोज २०७८ चैत १२ गते १५:४४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि एमालेले चुनाव जित्ने बताएका छन् । शनिवार काठमाडौंमा आयोजित नेकपा एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको प्रथम अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरु एकमुस्ट रुपमा आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरे ।

उनले अन्य पार्टीहरु एमाले सँग डराएर यसका विरुद्धमा लागिरहेको बताए । उनले सबै पार्टीहरु एकढिक्का भएपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता नेकपा एमालेको साथमा रहेको बताए । अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको टिप्पणी गरे । उनले भने, ‘त्यसकारण यो सँग डराएर अरुहरु एकजुट हुने र यसका विरुद्ध लाग्ने काम गरिराखेका छन् । मलाई सन्तोष लागेको छ, एक्लै एमालेसँग आउँछु भन्ने आँट, भिड्छु भन्ने आँट कसैले गरेकाे छैन चुनावमा ।’

अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको बताए । एमाले राष्ट्रिय हितको रक्षा र सम्वद्र्धन गर्ने धारको रुपमा रहेको उनले स्पष्ट पारे । उनले सत्तारुढ नेकपा माओवादी केन्द्रले एमसीसीको सन्दर्भमा विदेशीसँग साँठगाँठ गर्ने र जनतालाई छल्ने काम गरेको पनि उल्लेख गरे । अध्यक्ष ओलीले देशमा आर्थिकसम्बन्धी समस्या देखा परेको बताउँदै बैंकहरुसँग ऋण दिने पैसा पनि नभएको उल्लेख गरे ।

आफू नेतृत्वको सरकार हुँदा सयौं विकास निर्माण सम्बन्धी काम गर्न पनि पैसा पुगेको भन्दै उनले वर्तमान सरकार आएसँगै पैसा नभएको देखेर अचम्म लागेको टिप्पणी गरे । अध्यक्ष ओलीले कृषि र उद्योगको क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने बताए । देशलाई आधुनिक, विकसित र उद्यमी बनाउनुर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया