राजेन्द्रले भने- साँढेको टाँगमुनि बाल्टी थापेर दुध आउँदैन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री शेरबहादुर देउवाले अबको कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर दिन नेपाली काँग्रेसका नेताहरुलाई चुनौति दिएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीले कति समयमा देश बनाउन सक्छन् भन्ने प्रश्नको उत्तर उनीहरुसँग नै नभएको आरोपसमेत लगाए ।
उनले आगामी निर्वाचनमा भ्रष्ट नेतालाई भोट नदिने हो भने त्यो सजाय खुकुरी र तरवार चलाएको भन्दा ठूलो हुने र ३१ वर्षसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रले नै सरकार चलाइरहेको भन्दै अब पनि उनीहरुलाई नै जिताएर देश बन्छ भन्नु मुर्खता भएको बताए ।
उनले आफ्नो पार्टीले ५ वर्षमात्रै देशको नेतृत्व पाए देशको मुहार फेर्ने गरी काम गर्ने दाबी गरेका छन् । लिङदेनले जनताको हातमा पुन : शक्ति आउन लागेको भन्दै मतरुपी शक्तिलाई उचित सदुपयोग गर्न आग्रह गर्दै उनले काँग्रेस, एमाले र माओवादी प्रति लक्षित गर्दै साँढेको टाँगमुनि बाल्टी थापेर दुध नआउने बताए । अध्यक्ष लिङदेनले मुलधारमा रहेको पार्टीहरुको दिमाग बाँझो भइसकेको भन्दै जति भोट दिएपनि उनीहरुले देश नबनाउने र राप्रपालाई एक पटक सरकारको नेतृत्वको जिम्मा दिएर हेर्न पनि आग्रह गरे ।

प्रतिक्रिया