नेपाललाई आफ्नै घरमा पराजित गर्दै पीएनजीले सिरिज नै कब्जा गर्यो

काठमाडाैं । पपुवा न्युगिनी (पीएनजी)सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ८ विकेट गुमाएर २७८ रन बनाएकोमा उक्त लक्ष्य जोगाउन असफल रह्यो ।
पीएनजीले दोस्रो एक दिवसीय क्रिकेट ३ विकेटले जित्दै सिरिज नै २–० ले कब्जा गर्न सफल बन्यो । पहिलो खेलमा नेपाल ६ रनले पराजित भएको थियो । पीएनजीले सन् २०१४-१५ काे सिजनपछि पहिलाे एक दिवसीय सिरिज जित्न सफल भएकाे हाे । त्यतिबेला हङकङलाई पराजित गरेकाे थियाे । यस्तै आइसीसी विश्वकप लिग टू अन्तर्गत युएईमा भएकाे सिरिजमा नेपालसँग हारेकाे बदला पनि पीएनजीले लिएकाे छ ।
नेपालले दिएको लक्ष्य ९ बल बाँकी छँदै ७ विकेट गुमाएर पुरा गरेको हो । पीएनजीलाई जिताउनका लागि लिगा सिकाले सर्वाधिक ९० रन बनाउँदा रेलि हेकोरले ४८ रनको नटआउट पारि खेले । सेसे बोउ ३८ रनमा आउट हुँदा चार्लिस अमेनी ३५ रनमा पभेलियन फर्किएका थिए । नेपालका सोमपाल कामीले ३ विकेट लिँदा पवन शर्राफले २ विकेट हात पारे । सन्दीप लामिछाने, आरिफ शेखकको नाममा एक एक विकेट रह्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीको शतकीय पारि र देव खनालको अर्धशतकीय पारिको मद्दतले नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर२७८ रन बनाएकाे थियाे । टस जितेर पहिला ब्याटिङ गरेको नेपालको सुरुवात भने राम्रो रहेन । कुशल भुर्तेल पहिलो बलमै खाता नखोल्दै आउट भएका थिए । त्यसपछि अर्का ओपनर अनिल साह पनि २ बल फेस गर्दा १ रन जोडेर पभेलियन फर्किए पछि नेपालले ५ रन बनाउँदा दोस्रो विकेट गुमाएको थियो ।
त्यसपछि देव खनाल र दीपेन्द्रसिंह ऐरीले १३१ रनको साझेदारी गर्दै नेपालको पारि सम्हालेका थिए । खनाल भने ७२ रन बनाएर पभेलियन फर्किए । यसै सिरिजमा डेब्यु गरेका खनालले करियरको पहिलो अर्धशतक पनि बनाएका छन् । उनले ८६ बल खेल्दा ३ छक्का र ४ चौका प्रहार गरे । खनाल आउट भएपछि दीपेन्द्रलाई साथ दिन रोहित पौडेल क्रिजमा आएका थिए । शुक्रबार शतक बनाएका रोहित पनि खुलेरै खेलेका थिए । तर उनको पारि ३५ रन भन्दा अगाडि बढ्न सकेन ।
उनले ३६ बल खेल्दा ३ चौका प्रहार गरे । पौडेल आउट भएपछि क्रिजमा आएका भीम सार्की र क्रिजमा जमेका दीपेन्द्रले नेपालको स्कोर २४७ रनमा पुर्याएका थिए । दीपेन्द्रले १३६ बलमा शतक प्रहार गर्दा ६ चौका प्रहार गरेका थिए । करियरको पहिलो र नेपालबाट तेस्रो एक दिवसीय शतक दीपेन्द्रको नाममा रह्यो ।

शतक पछि खुलेर खेल्ने क्रममा दीपेन्द आउट भएका थिए । दीपेन्द्रले समग्रमा १४० बल खेल्दा ७ चौकाको मद्दतले १०५ रन बनाएर आउट भएका थिए । दीपेन्द्र आउट भएपछि लगातार विकेट गुमाएको थियो । भीम सार्की २६ रन बनाएर आउट हुँदा उनले १९ बल फेस गरेका थिए । यसैगरी पवन शर्राफले खाता खोल्न सकेनन् भने आरिफ शेख ४ रनमा रन आउट भए ।
अन्तिममा कप्तान सन्दीप लामिछानेले आक्रामक पारि खेले । उनले ९ बलमा १ छक्का र २ चौकाको मद्दतले २४ रन नटआउट जोड्दा सोमपाल कामी २ बलमा ३ रन बनाएर नटआउट रहे । पीएनजीका लागि एलि नाओले ३ विकेट लिँदा नोमान भानुले २ विकेट हात पारे ।
प्रतिक्रिया