गुल्मी पुगेर माधवले भने- रामकुमारीलाई जिताएर पठाउनू

नेपालखोज २०७८ चैत १२ गते २२:२२

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफ्नै प्रवृत्तिका कारण सबैतिरबाट एक्लिएको आरोप लगाए । शनिवार गुल्मी जिल्ला स्तरीय कार्यकर्ता भेलामा नेपालले केपी ओली कै निरङ्कुश प्रवृत्तिका कारण दुई तिहाइ सरकारको नेतृत्वबाट उनी बाहिरिनु परेको र सबै प्रदेशबाट पनि एमाले निस्कनु परेको बताएका हुन् ।

गठबन्धन कायम नै रहने उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले गठबन्धनबाट नै एमाले नराम्रोसँग पछारिने बताए । नेकपा एमालेमा सूर्य ग्रहण लागिसकेको बताउँदै नेता नेपालले एमालेभित्रका अहङ्कारी नेताहरूकै कारण अहिलेको अवस्था आएको तर्क गरेका छन् । ओलीको अहङ्कारी सोचका कारण उनले पार्टीमा सूर्य ग्रहण लागेको बताएका हुन् ।

ओलीले नेतृत्व गरेको पार्टीमा विचार, सिद्धान्त केही नभई ओलीका आसेपासेहरू मात्र रहेको आरोप लगाउँदै उनले एमाले कहिल्यै पनि जनताको पार्टी बन्न नसक्ने जिकिर गरे । हुँदा खादाको झन्डै दुई तिहाइको सरकारमा हुँदा व्यक्तिवादी सोचका कारण सत्ताबाट बाहिर रहनुपरेको बताउँदै एमाले अब धुलोमा मिल्ने समेत उनले दाबी गरे ।

नेपालले नेकपा एमाले पार्टी आफूले निर्माण गरेको दाबी गर्दै अहिले ओलीले कब्जा जमाएको समेत बताए । पार्टी निर्माणमा आफ्नो भूमिका रहेको भन्दै तानाशाही तवरले पार्टी चलाउन खोजेकाले आफूहरू नयाँ पार्टी निर्माणमा लागेको समेत उनले दाबी गरे । ओलीको व्यक्तिवादी र अतिवादी सोचका कारण नै सिंहदरबारबाट बालकोट जानुपरेको, सरकारमा रहँदा सत्ता र शक्तिको समेत दुरुपयोग गरी भ्रष्टाचारमा लिप्त रहेको उनले आरोप लगाए ।

सम्बोधनकै क्रममा नेता नेपालले गुल्मेली जनताले जिताएर पठाएका नेता गफाडी भएको आरोप लगाएका छन् ।कसैको नाम नलिई अध्यक्ष नेपालले गुल्मीबाट संसद्मा प्रतिनिधित्व गर्ने नेकपा एमालेका नेताहरू प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्टप्रति लक्षित गर्दै भने, ‘अहिले जितेर गएका नेताहरू केबल जनतालाई झुट्टा आश्वासन मात्रै दिने नेता भएका छन् ।’

उनले रामकुमारी झाक्रीलाई जिताएर पठाउन पनि आग्रह गरे । उनले भने, ‘म गुल्मी आएपछि यहाँबाट जितेर गएका नेताको बारेमा सोधेँ, तिनीहरू त आफैले पढेको स्कुल भवन जीर्ण हुँदासमेत बजेट माग नगर्ने, चुनावको समयमा झुटा आश्वासन दिने नेता पो रहेछन् ।’

उनले रुसमा गोर्भाचेभले लामो समय शासन गरेर समाजवाद, कम्युनिस्ट आन्दोलन सिध्याए झैँ केपी ओलीले पनि त्यही प्रवृत्तिबाट कम्युनिस्ट आन्दोलन सिध्याउन खोजेको आरोप लगाए । ओलीले पार्टीलाई सामूहिक भावनाले होइन एकलौटी ढङ्गले चलाएर पेल्न थाले पछि आफूहरूले विद्रोह गर्नु परेको उनको भनाई थियो । केपी ओलीले राज्य सत्ताको दुरुपयोग गरेको, कार्यकर्ताहरूलाई पार्टीको सिद्धान्त होइन, जालझेल गर्न, भ्रष्टाचार गर्न र लुट्न मात्रै सिकाउने गरेको उनको अर्को आरोप थियो ।

उनले एमाले फुटाउने आरोप आफूहरूलाई लगाउने गरेको भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘एमाले फुटाउने मात्र होइन, त्यत्रो ठुलो पार्टी नेकपा फुटाउने पनि केपी ओली नै हुन ।’

उनले ओलीप्रति लक्षित गर्दै भने, ‘एउटा उखान छ नि ? दुःख पाइस् मङ्गले आफ्नै ढङ्गले । पार्टीलाई साथमा लिएर गएको भए , जनताको विश्वासको जगेर्ना गरेको भए, पार्टीका नेताहरूलाई साथमा लिएर अगाडी बढेको भए पार्टीको विचारलाई आत्मसात् गरेको भए अहिले यस्तो अवस्था आउँथ्यो ?’

प्रतिक्रिया