नेपालमा चीन विरोधी गतिविधि हुन नदिन पार्टीले भूमिका निर्वाह गर्छ : प्रचण्ड

काठमाडौं । चिनियाँ विदेश मन्त्री वाङ यी र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । विदेशमन्त्री यी र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज काठमाडौंस्थित मेरियट होटलमा भेटवार्ता भएको हो ।
भेटवार्तामा विदेशमन्त्री यीसँगै उनको तर्फबाट प्रतिनिधि मण्डल र अध्यक्ष दाहालको तर्फबाट पनि प्रतिनिधि मण्डल सहभागी भएको थियो । भेटवार्ताको क्रममा माओवादी केन्द्रले बिआरआई परियोजनालगायतका परियोजनालाई कार्यान्वयनका निम्ति आवश्यक पहलकदमी लिनुपर्ने कुराको चर्चा गरेको माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

त्यस्तै दुई देशबीचको व्यापार घाटालाई सन्तुलित बनाउन व्यापार नाकाहरुलाई नियमित गर्न प्रयास बढाउनुपर्ने विषय राखेको उनले बताए । माओवादी केन्द्रले नेपालमा चीन विरोधी गतिविधि हुन नदिन पार्टीको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्ने पनि बताएको छ ।
त्यसैगरी, चिनियाँ पक्षले दुई देशबीचको पुरानो र ऐतिहासिक सम्बन्धको चर्चा गर्नुका साथै नेकपा (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धबारेमा पनि चर्चा गरेको नेता बस्नेतले बताए । नेपालको सबै राजनीतिक दलहरुसँग चीनको सम्बन्ध सुदृढ हुँदै गएको कुरा चिनियाँ पक्षले राखेको उनले बताए ।

चिनियाँ विदेश मन्त्रीले चीन र नेपालबिचको सम्बन्ध छिमेकीको रुपमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेको माओवादी केन्द्रका नेता बस्नेतले बताए ।
तस्बिर : रासस

प्रतिक्रिया