बारका नेतृत्वले ‘रुल अफ ल’ होइन ‘हुल अफ ल’ को कुरा गरे : अधिवक्ता घिमिरे

काठमाडौं । नेपाल बार एशोशिएसनको आगामी चैत्र १९ गते हुने निर्वाचनमा वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठ र अधिवक्ता उद्धवचन्द्र घिमिरेले पेशागत स्वतन्त्रतर्फबाट केन्द्रीय अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अधिवक्ताद्वय श्रेष्ठ र घिमिरेले अध्यक्ष पदको लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ अधिवक्ता अमिता लक्ष्मी सैंजु श्रेष्ठले स्वतन्त्र, स्वच्छ र सक्षम न्यायालयको लागि आफ्नो पेशागत स्वतन्त्र तर्फबाट उम्मेदवारी रहेको बताइन् ।

उनले भनिन्,‘स्वतन्त्र र दक्ष बारको लागि मेरो उम्मेदवारी हो । अब न्यायालयलाई बचाउनु पर्छ ।’ पछिल्लो समयमा अदालतबाट जनतामा निराश छाइरहेको दाबी गर्दै श्रेष्ठले न्यायालयले राम्रो काम गर्न नसकेकोमा न्यायालय असक्षम ठहरिने टिप्पणी गरिन् ।
देशमा संविधान कार्यान्वयन नभएकै कारण देशको अवस्था बिग्रदै गएको उनको भनाई थियो । अहिलेको व्यवस्था सुनौलो भएको भन्दै उनले यसको बचाउ गर्न पर्नेमा जोड दिइन् । नेपालको संविधान सबै भन्दा ठुलो हो भन्दै श्रेष्ठले संविधान भन्दामाथि कोही जान नहुने धारण राखिन् । उनले अहिलेको व्यवस्था सबैले ल्याएको भन्दै उनले व्यवस्था ठिक भएपनि त्यसको पुर्ण कार्यान्वयन गर्न नसकेकोमा आपत्ति जनाईन् ।

बारमा ७७ जिल्लाका वकिलहरु पनि रहेको स्मरण गराइन् । त्यस्तै, पछिल्लो समय बारका वरिष्ठ नेतृत्वहरुमा पनि निराशा छाइरहेको उनले जिकिर गरिन् । काठमाडौं बासीले त न्यायलयबाट सेवा, सहुलियत नपाएको भन्दै उनले दुरदराजका जिल्लाहरुले पाउनै नसक्ने अहिलेको अवस्थाको अन्त्य गर्नपर्नेमा आफु प्रतिबद्ध रहेको सुनाइन् ।
श्रेष्ठले वरिष्ठहरुलाई सम्मान गर्दै वकिलहरुलाई बीमाको व्यवस्था, नवोदित कानुन व्यवसायीहरुलाई तालिम दिएर आफू साहार बन्ने पनि प्रतिवद्धता व्यक्त गरिन् । न्याय क्षेत्र आफै पनि अनुशासनमा बस्न पर्ने उनको भनाई थियो । अनुशासनमा नबसेपछि राजनीतिक दलको दबाब र प्रभावमा बस्न पर्ने र स्वतन्त्र तरिकाले काम गर्न नसक्ने उनले बताइन् ।
त्यस्तै, अध्यक्षका अर्का उम्मेदवार अधिवक्ता उद्धवचन्द्र घिमिरेले बारको आगामी निर्वाचनमा आफूले पेशागत स्वतन्त्र तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको बताए । राजनीतिक दलबाट दुई प्यानल चुनावमा उत्रिएको भन्दै विगतमा पनि राजनीतिक दलका प्यानलका नेतृत्वले न्यायालयलाई फाइदा नपुर्याएको दाबी गरे ।

नेपाल कानुन आयोगका सदस्य समेत रहेका घिमिरेले भने, ‘राजनीतिक दलहरुको प्यानलबाट आजसम्म जतिपनि बारहरु गठन भए, त्यसका नेतृत्वले न्यायलयलाई फाइदा पुगेको छैन् । अहिले पनि सरकारमा रहेका राजनीतिक दलबाट एउटा प्यानल बनाउनु भएको छ । र अर्को एमालेबाट एउटा प्यानल रहेको छ ।’
अध्यक्ष पदको लागि आगामी निर्वाचनमा ८ जना उम्मेदवार रहेको समेत उनले जानकारी दिए । उनले बारमा नेतृत्व गरीरहेकाहरुले रुल अफ ल को कुरा नभई हुल अफ ल को कुरा गरिरहेको आरोप लगाए ।
सरकारका तीनवटा अंग र तिनिहरुको आ–आफ्नै चेक एण्ड ब्यालेन्स हुन्छ भन्दै उनले कतै राम्रो स्थिति नदेखिएको बताए । अहिलेको स्थिति खिलराज रेग्मी प्रधानमन्त्री भएदेखि आएको आरोप लगाउँदै उनले त्यसबेला बारको कमिटि भएपनि केही नबोलेको बताए ।

प्रतिक्रिया