चितवन कांग्रेसले भन्यो- एमाले हराउन प्रचण्डका बाउछोरीलाई मत दिन सकिँदैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले चितवनमा हुने भनिएको कांग्रेस र माओवादी केन्द्रको गठबन्धनप्रति अहसमति व्यक्त गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठक चलिरहँदा आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले यसपटक भरतपुर महानगरपालिकामा कांग्रेसकै उम्मेदवार उठाउनुपर्ने बताए ।
गुरुङले नेकपा एमालेको रिसले सबै भोट खन्याएर माओवादीलाई जिताउन नसकिने बताए । चितवन कांग्रेसका पूर्वसभापतिसमेत रहेका गुरुङले भरतपुर महानगरपालिकामा गठबन्धन गर्दा पनि मेयरमा प्रचण्डपुत्री रेणु दाहालले अहिले नजित्ने दाबी गरे । चितवनमै प्रचण्डका बाबुछोरीलाई स्थापित गर्न खोज्दा समस्या आउनसक्ने उनको भनाइ थियो । उनले भने, ‘प्रचण्डका बाउछोरी चुनाव लड्ने , कांग्रेसले भोट हालिरहने भन्ने हुँदैन । एमाले हराउन सबै माओवादीलाई दिन सकिँदैन । जनताले एमाले जिताउने गठबन्धन बनाउन सक्छन् ।’
फेरि पनि गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाललाई उम्मेदवार बनाउने हो भने उनले नजित्ने गुरुङले बताए। उनले भने, ‘भरतपुर महानगरपालिकामा मेयर जित्दै गर्दा उसले २९ मध्ये दुई वटा वडा जितेको हो । २९ वडामा जम्मा २ वडा हो माओवादीले जितेको, मतपत्र च्यातेर जिताइएको हो । अझैपनि पेलेर दिने हो भने तालमेल गठबन्धन जिताउन होइन, एमाले जिताउन परिणत हुनसक्छ ।’
आफू तालमेलको विपक्षमा नभएको उनले बताए । उनले भने, ‘गठबन्धन हुनुपर्छ । तर, सधैँ चितवनका कांग्रेसले अरूलाई मात्र भोट हाल्नुपर्ने भन्ने हुँदैन ।’
सभापति देउवालाई आफूले चितवनमा कांग्रेस कमजोर नरहेको बताउन चाहिरहेको उनले बताए । पञ्चायतकालदेखि नै चितवनमा कांग्रेस बलियो रहेको बताउँदै उनले तीनपटक आफैं जिल्ला पञ्चायतको सभापति जितेको गुरुङले बताए । उनले भने, ‘७० मा सुशील दाइ (सुशिल कोइराला)लाई लगेर जिताएका हौं । ४ वटै निर्वाचन क्षेत्र जित्यौं । ४८ र ७४ मा हो सबै हारेको । नत्र सधैँ जितेका छौं ।’
अहिले माओवादी र एमाले जोड्दा पनि कांग्रेस नै बलियो रहेको उनले दाबी गरे । भरतपुरमा गठबन्धन नगर्दा हार्ने अभिव्यक्ति दिएका सभापति शेरबहादुर देउवाप्रति गुरुङले त्यहाँ कांग्रेस कमजोर नभएको बरु केन्द्रले कमजोर बनाएको भन्दै प्रतिवाद गरे।

प्रतिक्रिया