‘गैरआवासीय नेपालीको सम्पत्ति र लगानीको संरक्षण गर्न सरकार सकारात्मक’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशमा आर्जन गरेको पुँजी, प्रविधि र व्यवसायिक ज्ञान, सीप र कौशल मुलुकको रुपान्तरणका निम्ति उपयोग गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् ।
गैर आवासीय नेपाली संघको १० औं विश्व सम्मेलनको समापनको अवसर बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको तीव्र रुपान्तरण र दीगो विकासका लागि ठूलो पुँजी र प्रविधिको आवश्यकता रहेको उल्लेख गर्दै त्यसमा गैर आवासीय नेपालीहरुले पुरकको भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गरे ।
नेपालको संविधानले अर्थ, उद्योग, वाणिज्य नीति अन्तरगत गैर आवासीय नेपालीहरुको ज्ञान र सीप, प्रविधि र पुँजीलाई राष्ट्रिय विकासका उपयोग गर्ने कुरालाई प्राथमिकता दिएको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक विभिन्न नीति र कानुनी सुधार गर्दै गैर आवासीय नेपालीहरुलाई सहजरुपमा लगानी गर्न सक्ने तथा लगानीको प्रतिफल सुनिश्चित गर्न सक्ने वातावरण निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीहरुको सम्पत्ति र लगानीको संरक्षण गर्ने काममा सरकार सदैव सकारात्मक रहेको पनि बताए । त्यस अवसरमा प्रधानमन्त्री देउवाले गैर आवासीय नेपाली संघले भूकम्पले ध्वस्त बनाएको बस्तीको पुनर्निर्माण र कोभिड संकटमा सघाउ पुर्याएको आभार समेत व्यक्त गरे ।

प्रतिक्रिया