कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई

नेपालखोज २०७८ चैत १३ गते २०:४२

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । क्लबले यही चैत्र १७ गते आफ्नो स्थापनाको २४औं वार्षिकोत्सवको अवसरमा उक्त पुरस्कारबाट वरिष्ठ पत्रकार नेपाललाई सम्मान गर्न लागेको हो ।

आज बसेको क्लबको पुरस्कार छनौट समितिको बैठकले यस्तो निर्णय गरेको छ । उक्त पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ । किसुनजीको नाममा क्लबले आज मात्रै उक्त पुरस्कारको स्थापना गरेको हो । उक्त पुरस्कार क्लबको वार्षिकोत्सव समारोहका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाको हातबाट वितरण गरिने क्लबका सभापति ऋषि धमलाले जनाए ।

पत्रकार नेपाल नेपाली सञ्चार क्षेत्र र लोकतान्त्रिक आन्दोलनमा सधैं अग्रपंक्तिमा रहेर महत्वपूर्ण भू्मिका निर्वाह गर्दै आएका व्यक्ति हुन् । उनीसँग सन्त नेता भट्टराईको प्रेस सल्लाहकारको रुपमा समेत कुशलतापूर्वक जिम्मेवारी वहन गरेको ईतिहास छ ।

पत्रकार नेपाल नेपालको मूलधारका मिडियामा नेतृत्वदायी भूमिका रहेर काम गरिसकेको र नेपाल पत्रकार महासंघको अध्यक्षसमेत भैसकेको व्यक्तित्व हुन् । उनका विभिन्न पुस्तकसमेत प्रकाशन भैसकेका छन् ।

प्रतिक्रिया