त्रिकोणात्मक टी-ट्वान्टी सिरिजअन्तर्गत आज नेपालले पीएनजीसँग खेल्दै

काठमाडाैं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह साढे १२ बजे खेल सुरु हुनेछ । पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउन्ड रोबिनको आधारमा हुने सिरिजमा नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने मौका छ । तर, एकदिवसीय क्रिकेटमा पीएनजीसँग दुई खेलमा पराजित भएको नेपाललाई भने आजको खेलमा डर छ ।
नेपाल, पपुवा न्युगिनी र मलेसियाबीचको खेल आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको हो । अहिलेसम्म नेपाल र पपुवा न्युगिनी एक पटक मात्रै भिडेका छन् । ७ वर्षअघि भएको खेलमा नेपाल पीएनजीसँग ८ विकेटले पराजित भएको थियो । पीएनजीले पछिल्लो ६ टी–ट्वान्टी खेलमा जित निकाल्न सकेको छैन । नेपालले भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा ८ टी–ट्वान्टी खेल खेल्दा ७ खेलमा जित निकालेको छ । त्यसैले नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनमा छ ।

प्रतिक्रिया