धेरै साथीहरू हार्दा मैले बालबाल जितेको हुँ यार : सभापति देउवा

नेपालखोज २०७८ चैत १४ गते १६:३०

काठमाडाैं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी चुनावका गठबन्धन गर्नुको विकल्प नरहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा देउवाले चुनावी गठबन्धनको विकल्प नभएको बताएका हुन् ।

कतिपय नेताले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवाले यस्तो बताएका हुन् । बैठकलाई सम्बोधन गर्दै देउवाले पहिला एक्लै लड्दा आफूले समेत बालबाल जितेको बताए । देउवाले भने, ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार । गठबन्धन नगरेर हुन्छ ? गठबन्धन गरेर जाँदा हामी सबै जित्छौं भन्या । ए बाबा पहिला धेरै साथीहरू हारेका हैनन् र ?’

आगामी निर्वाचनमा गठबन्धन गरेर जाने विरोध गरेपछि सभापति शेरबहादुर देउवाले त्यसको जवाफ फर्काएका छन् । सभापति देउवाले २०७५ सालको निर्वाचनमा बल्लतल्लले चुनाव जितेको सम्झिँदै आगामी निर्वाचमा गठबन्धन नगरी नहुने भन्दै गठबन्धनमा शंका नगर्न बताए । सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने र पार्टीलाई पनि फाइदा हुने बताए ।

सभपाति देउवाले विगतमा माओवादीले आफूलाई समेत गोली हानेको तर, अहिले त्यो रिस फेर्न नहुने र अवस्थाअनुसार चल्नुपर्ने बताए । साथै, आफूमाथि पनि त्यस्तो कुनै शंका नगर्न सभापति देउवाको भनाइ छ । उनले भने, ‘मलाई पनि माओवादीले पहिले गोली हानेकै हुन् । तर, अब पुराना कुरा सम्झिएर केही हुँदैन । त्यसकारण गठबन्धन गरेर जाऔँ । मेरो आइडियोलोजीमा शंका नगर्नुहोस्, म धेरै लडेको मान्छे हुँ ।’

यसअघि केन्द्रीय सदस्य कोइरालाले गठबन्धनको औचित्यबारे प्रश्न उठाएका थिए । उनले अरु दलसँग गठबन्धन गर्नुभन्दा पार्टीलाई नै दह्रो बनाउनुपर्ने बताएका थिए । उनले भने, ‘गठबन्धन कोसँग, किन, केका लागि गर्ने हो ? किन आवश्यक हो ? पार्टीसँग गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीभित्रको एकतामा किन जोड नदिने ? त्यसैले त्यसतर्फ ध्यान दिऔं ।’

केन्द्रले अरु दलसँग गठबन्धन गर्नुपर्छ भनेर आदेश दिने तर, तलका कार्यकर्ताले एकता गर्न नमाने के हुन्छ भन्दै प्रश्न पनि गरेका थिए । यसतर्फ ध्यान खिचेर पार्टीलाई नै मजबुत बनाएर लैजानुपर्ने कोइरालाको भनाइ थियो । उनले पुरानो कुरा बिर्सेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया