स्थानीय निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जनाले मतदान गर्न पाउने

काठमाडौं । आगामी बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाताले भाग लिन पाउने भएका छन । निर्वाचन आयोग, नेपालले सोमबार नियमित पत्रकार सम्मेलन गरी स्थानीय तह निर्वाचनमा भाग लिने सो संख्यामा रहेका मतदाताहरुको नामावली स्विकृत गरिएको छ।
जसअनुसार ८७ लाख ४१ हजार ५३० महिला मतदाता, ८९ लाख ९२ हजार १० पुरुष मतदाता र र १८३ अन्य मतदाताहरु रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। स्थानीय तह निर्वाचनमा १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएको पनि आयोगले जनाएको छ। आयोगका प्रवक्ता पौडेलले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७७ जना मुख्य निर्वाचन अधिकृत र ६७६ जना निर्वाचन अधिकृतहरु तोकिएको र उनीहरुको नामावली चैत्र १३ गते प्रकाशित गरिने बताए ।
निर्वाचन आयोगले स्थानीय तह निर्र्वाचनको लागि भाग लिन संस्थाहरुलाई निवेदन पेश गर्न पनि आह्वान गरेको छ। विगतको अभ्यास र अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्रै निर्वाचनको पर्यवेक्षण गर्न अनुमति दिइने पनि आयोगका प्रवक्ता पौडेलले स्पष्ट पारे।
यसैबीच, निर्वाचन आयोग, नेपालले मत पत्र छपाईका लागि मेसिनलगायतका सामग्रीहरु तयारीमा राख्न जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको छ । त्यसैगरी आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि यही चैत्र १५ गतेबाट कल सेन्टर संचालनमा ल्याउन लागिएको पनि जनाएको छ । प्रवक्ता पौडेलले त्यसका लागि आवश्यक जनशक्तिहरुलाई आज (सोमबार) नै अभिमुखिकरण तालिम दिइएको र निर्वाचन आयोगले कल सेन्टर संचालनका लागि ११०२ टोल फ्रि नम्बरको व्यवस्था गरिसकेको छ।

प्रतिक्रिया