दोहोरी प्रतियोगिता १६ देखि १९ गतेसम्म भृकुटीमण्डपमा हुने

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले चैत १६ देखि १९ गतेसम्म ‘छैठौं राष्ट्रिय रनिंङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८’ को आयोजना गर्ने भएको छ । आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गर्दै संस्थाले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
कोराना भाइरसका कारण दुई वर्ष रोकिएको दोहोरी प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपको बगैँचामा हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीले जानकारी दिए । यस्तै, उनले लोक दोहोरीका पारखीहरुलाई यस प्रतियोगिताले भरपुर मनोरञ्जन दिने भन्दै सम्पूर्ण महानुभावहरुलाई सहभागिताको लागि आग्रह गरे । प्रतियोगितामा देशैभरिका करिब ७० समूहको सहभागिता रहने महासचिव सुवास केसीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्नेलाई दुई लाख २५ हजार रुपैयाँ, दोस्रो लाई एक लाख ५० हजार रुपैयाँ र तेस्रोलाई एक लाख रुपैयाँ पुरस्कार दिईने जनाइएको छ । साथै, प्रतियोगितामा सान्त्वना हुनेलाई समेत नगद ५० हजार रुपैयाँ, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको जनाइएको छ । उक्त प्रतियोगितामा एक लाख दर्शकले अवलोकन गर्ने आयोजकको अनुमान रहेको छ ।
मुख्य प्रायोजक गोर्खा ब्रुअरीका प्रतिनिधी उत्कृष्ट नेपालले टुबोर्गले सुरुवाती दिनदेखि नै संगितको माध्यमबाट नेपाली जनताको मनमनमा पस्न खोजेको भन्दै नेपालको सांस्कृतिक र मौलिक संगितको रुपमा रहेको दोहोरीमा जोडिन पाएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा बोल्दै पत्रककार ऋषि धमलाले राष्ट्रिय रनिंङ शिल्ड खुल्ला दोहोरीगीत प्रतियोगिताको सफलताको कामना गरे । उनले उक्त प्रतियोगिताले नेपाली जनतामा एक किमिसको नयाँ तरंग पैदा गर्ने विश्वास दिलाए । धमलाले नेपाली राजनीतिको सर्वमान्य नेताको नाममा गणेशमान सिंह आउने उल्लेख गर्दै लोक दोहोरीमा भने सर्वमान्य व्यक्तित्व नारायण रायमाझी रहेको दाबी गरे ।

प्रतिक्रिया