कांग्रेसले चुनावमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने

नेपालखोज २०७८ चैत १४ गते १८:४८

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनसँग सहकार्य गर्ने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले गठबन्धनसँग सहकार्य गरेर नै स्थानीय तह निर्वाचनमा पार्टी सहभागी बन्ने निस्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीहसँग बोल्दै पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले अधिकांश सदस्यहरुले गठबन्धन गरेर जानुपर्ने सुझाव दिएको र सोहीअनुसार मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले प्रस्ताव पास गर्ने बताए । उनले आज सबै केन्द्रीय सदस्यहरुले आफ्नो भनाइ राखिसकेको र बैठकमा पार्टीलाई बलियो बनाउने भन्ने बारेमा छलफल भएको बताए ।

प्रवक्ता महतले बैठकमा ‘घर घर जाऔँ, नेपाली कांग्रेस जिताऔँ’ अभियानको मूल्यांकन भएको समेत बताए । उनले बैठकमा कतिपय सदस्यहरुले गठबन्धन नगरीकन कांग्रेस निर्वाचनमा जानुपर्ने धारणा राखेकोसमेत प्रवक्ता महतले बताए ।

प्रवक्ता महतले पार्टीको अर्को केन्द्रीय समिति बैठक भोलि दिउँसो ३ बजे बस्ने र केन्द्रीय समितिका सदस्यहरुको धारणाअनुसार नै सैद्धान्तिक निर्णयसहित प्रस्ताव पास हुने बताए ।

प्रतिक्रिया