बिहीबार, जेठ २, २०८२

केका लागि बधाई दिने ?

रामचन्द्र भट्ट २०७८ चैत १५ गते १३:१२

हुन त मैले बधाई दिनु र नदिनुमा तपाईंहरुले पाउनुभएको पदलाई कुनै फरक पार्न सक्ने त होइन । तर मेरो जस्तै भाव बोकेका असंख्य प्रवासी नेपालीहरु छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को जुन खालको ओज थियो, प्रतिष्ठा थियो जीवा लामिछानेको कार्यकाल पछाडिका कसैले पनि थेग्न सकेनन् । उपेन्द्र महतोको विरासत त कसैले समात्न पनि सकेनन् । कोही जाँड धोकेर विमानस्थलमै वितण्डा मच्चाउने, कोही स्वास्नीलाई उत्तराधिकारी बनाउने । यिनका हर्कतले प्रवासमा बसेका हरकोही नेपाली र नेपालीमुलका लज्जित हुनुपर्ने अवस्था आइलागेको छ । किनकि नेपालबाट हेर्दा प्रवासमा बसेका हरेक व्यक्तिलाई एनआरएनकै दृष्टिले हेरिन्छ ।

यसपटकको अधिवेशनले त सबैभन्दा लज्जित बनाएको छ हर सदस्यलाई । तीन-तीन अध्यक्ष पनि कुनै संस्थामा हुन्छ ? कसैलाई जुनसुकै तरहले पद चाहियो भन्दैमा रातारात विधान संशोधन ? माफ गर्नुहोला-यसपटक टीका लगाएर, लिस्टमा परेर, सरकारी र गैरसरकारी आशीर्वाद पाएर जो जतिले पद बोकेर फर्किनुभएको छ नि । तपाईंहरु सबै लालची हो ।

अस्ति भरखर नेकपाको दुई अध्यक्षको वितण्डाले नेपालले दुर्भाग्य खेपेको देख्दादेख्दै तीनजना अध्यक्ष बनाउने ? यसले संस्था एक हुनेमा तपाईंहरु ढुक्क हुनुहुन्छ ? हेर्दै जानेछौं हामी साँचो खुट्टा तानातान त अब थालनी हुन्छ ।

तपाईंहरुका कारण प्रवासमा बस्ने हरकोहीको बेइज्जती भएको छ । सामाजिक सन्जालमा आएका टिप्पणी, मिडियामा प्रकाशित तिखो समाचार पढ्नुभएको छ ? तपाईंहरुका चाकडीवाजहरुले बधाई दिएका छन् । तर मलाईचाहिँ लाज लागेको छ ती चाकडीवाजहरुको प्रसंशा देख्दा । चाकडीवाजहरु देख्दा एउटा पौराणिक कथा याद आयो ।

कथामा राजाको नाकमा बसेको झिँगा धपाउन चाकडीवाजले तरबार प्रहार गरेको थियो । झिँगो त भाग्यो । तर तरबारको प्रहारले राजाको नाक काटियो ।

संस्थाको बदनाम गरेर पद बोकेकामा तपाईंहरु कोही पनि बधाईको हकदार हुनुहुन्न ।

प्रतिक्रिया