देशभर कृषि गणनाका लागि सुपरिवेक्षक र गणक खटाइँदै

काठमाडाैं । केन्द्रीय तथ्यांक विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ । नेपालमा वि सं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको छ ।
झापाका १५ वटै पालिकामा गणनाका लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताए । ‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ सुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउन लागिएको उनको भनाइ रहेकाे छ ।
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा नौ हजार ४०० कृषि परिवार छ । सोही तथ्यांकलाई आधार मानेर जिल्लाको १३१ वडालाई ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउन लागिएको अधिकृत लुइँटेलले कताए। करारमा नियुक्त भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि वैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिइने र त्यसपछि तथ्यांक संकलनका लागि ४५ दिनसम्म घरदैलोमा पठाइने उनले जानकारी दिए ।
अधिकृत लुइँटेलले भने,‘यो गणनाले कृषि मन्त्रालयले दश वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भयो त्यसको पनि विवरण प्राप्त हुने सरकारको अपेक्षा छ । ’कृषि गणनामा पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सन्चालन भइरहेका कृषि कार्यको विवरण संकलन गरिनेछ । जिल्लामा चैत १ गतेदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको अधिकृत लुइँटेलको भनाइ रहेकाे थियो ।

प्रतिक्रिया