फरार प्रतिवादी गुरुङ पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काजी गुरुङ पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी)का अनुसार स्याङ्जाको आधींखोला गाउँपालिका वडा नं.४ घर भई हाल काठमाडौं जिल्ला कामनपा वडा नं.२६ सामाखुसी बस्ने ५२ वर्षिय गुरुङलाई सोमबार काठमाडौंको सामाखुसीबाट पक्राउ गरिएको हो ।
प्रतिवादी गुरुङले एभरेष्ट बैंक लिमिटेड गोंगबु, काठमाडौंमा रहेको आफ्नो नामको खाताबाट रकम भुक्तान हुने भनी उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक दिएको सीआईबीको भनाई छ ।
उक्त चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७८ फागुन एक गते प्रतिवादी काजी गुरुङलाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिमको कसूरमा ४० लाख रुपैंया जरिवाना र छ कैद हुने ठहर भएको थियो ।
सो पश्चात फरार रहेका गुरुङलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरिएको सीआईबीले जानकारी दिएको छ ।

प्रतिक्रिया