बुधबार, जेठ १, २०८२

इजरायली प्रधानमन्त्री नाफ्तालीलाई कोरोना संक्रमण, भारत भ्रमण स्थगित

नेपालखोज २०७८ चैत १५ गते १४:४४

काठमाडौं । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ । उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि भ्रमण स्थगित गर्नु परेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । ‘प्रधानमन्त्री नाफ्ताली बन्नेटको भारत भ्रमण हाललाई स्थगित भएको छ, यसको नयाँ तालीका पछि सार्वजनिक गरिनेछ ।’ प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तीमा लेखिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको उनको तीन दिने भ्रमण आगामी आइतबारदेखि सुरु हुने तय गरिएको थियो । दुई देशको कूटनीतिक सम्बन्ध स्थापना भएको ३० औँ वार्षिकोत्सवको अवसरमा इजरायलका प्रधानमन्त्रीले भारत भ्रमण गर्ने कार्यतालिका बनेको हो । उनले पहिलो पटक भारतको भ्रमण गर्न लागेका थिए ।

प्रधानमन्त्री बन्नेटलाई कोरोनाभाइरसको संक्रमण भएको प्रधानमन्त्रीको कार्यालयले सोमबार सार्वजनिक गरेको थियो ।प्रधानमन्त्रीको कार्यालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उनलाई संक्रमण पुष्टि भएको हो । उनले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्नो काम गरिरहेको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया