निगमले सरकारलाई भन्यो- घाटा कम गर्न आइतबार पनि बिदा दिउँ

काठमाडौं । नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । निगमले सरकारलाई पत्र लेख्दै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो ।
घाटा थेग्नै नसक्ने स्थितीमा पुगेपछि नेपाल आयल निगमले सरकारलाई पत्र लेखेको हो । निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो । निगमले लेखेको पत्रमा सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम उपलब्ध गराउन माग गरेको छ । यसको सम्पूर्ण व्यवस्था अर्थमन्त्रालयले मिलाउनुपर्ने निगमको भनाइ छ । यदी यसो नभएमा निगम सञ्चालनमा समस्या पर्ने पत्रमा उल्लेख छ ।
इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको उनले बताए । उपाध्यायले भने, ‘निगमको आर्थिक अवस्था निकै जर्जर भयो, पेट्रोलियमको मूल्यका कारण देशलाई जोगाउन पनि दुई दिन सार्वजनिक बिदा र जोर बिजोर लागू गर्न पर्ने देखियो ।’
यस्तै, पेट्रोलियम पदार्थको आयात गर्दा तिर्नुपर्ने कर हटाउन समेत निगमले माग गरेको छ । पत्रमा लेखिएको छ, ‘सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको भन्सार शूल्क, मूल्य अभिवृद्धि कर, पूर्वाधार कर लगायतका कर केही समयका लागि हटाउनुपर्छ । यसैगरी, एलपी ग्याँसमा लाग्ने प्रति सिलिन्डर २०० कर समेत हटाउनु पर्छ ।’
प्रतिक्रिया