बाँकेमा स्थानीय तहको निर्वाचनमा सातजना तेस्रोलिंगी मतदाताले मतदान गर्दै

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा बाँकेमा सातजना तेस्रोलिंगी मतदाताले मताधिकार प्रयोग गर्ने भएका छन् । ती मध्ये नेपालगन्ज उपमहानगरपालिकाका चार, कोहलपुर नगरपालिकामा एक, राप्ती सोनारी र खजुरा गाउँपालिकामा एक/ एक जना रहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले जानकारी दिए ।
त्यसैगरी बाँकेमा १८ वर्ष पूरा भएका कूल तीन लाख २९ हजार ४७३ ले मतदान प्रक्रियामा भाग लिनेछन् । तीमध्ये पुरुष एक लाख ६७ हजार ३४९ छन, भने महिला एक लाख ६२ हजार ११७ रहेको कार्यालयले जनाएको छ । वि सं २०७४ को स्थानीय निर्वाचनकालागि जिल्लामा दुई लाख ४६ हजार १०३ मतदाता रहेकामा यस वर्ष करिब ८० हजार मतदाता थपिएको जनाइएको छ ।
जिल्लामा मतदानस्थल १३६ र मतदान केन्द्र ३७९ छ । मतदाता संख्या बढेकाले ५२ मतदान केन्द्र पनि बढेको सूचना अधिकारी पन्तले बताएका छन् । आगामि वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । त्यस्तै जिल्लामा राष्ट्रिय मान्यता प्राप्त छ दलबाहेक साना २३ दल निर्वाचन कार्यालय बाँकेमा दर्ता भएका छन् ।
उनीहरुलाई निर्वाचन कार्यालयले चुनाव चिन्ह्नसमेत प्रदान गरेको छ । यस्ता साना दलमा राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, मौलिक जरोकिलो पार्टी, सामाजिक एकता पार्टी, उन्नत लोकतन्त्र पार्टी, जनजागरण पार्टी, नेपाल मजदुर किसान पार्टी, र नेकपा एमालेलगायत पार्टी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया