अंग्रेजी माध्यमले विराटनगरका सामुदायिक विद्यालयको स्तर वृद्धि

काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधिले नेतृत्व गरेपछि विराटनगर महानगरपालिकाले शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति गरेको छ। महानगरपालिकाभित्र धेरै विद्यालयमा तल्लो कक्षाबाटै अंग्रेजी माध्यममा पढाउन थालिएको छ । यसबाट निजी विद्यालयका विद्यार्थी सामुदायिक विद्यालयतर्फ आकर्षित हुने भएकाले योजनागत कदमकै कारण शैक्षिक क्षेत्रमा गरिएका प्रयास सार्थक बनेको महानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख दुर्गा खतिवडाले बताए ।
आदर्श र पोखरिया माविले अंग्रेजी माध्यमबाट प्राविधिक शिक्षामा जोड दिएका छन् । दुवैमा बर्सेनि निजी विद्यालय छाडेर भर्ना हुन आउने विद्यार्थीको संख्या अत्यधिक बढेको छ । शैक्षिक लक्ष्य हासिल गर्न अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरिँदा बीचैमा सामुुदायिक विद्यालय छाडेर जाने विद्यार्थीको संख्या घट्न थालेको छ ।
विराटनगरको आदर्श विद्यालय यस क्षेत्रकै उदाहरणीय बनेको पूर्वप्राचार्य विष्णुप्रसाद लामिछानले बताए । आदर्शमा तल्लो कक्षामा मन्टेश्वरी तथा माथिल्लोमा कम्प्युटर प्राविधिकतर्फको अध्यापनमा जोड दिइएको छ । आदर्शमा हाल झण्डै दुई हजार विद्यार्थी अध्ययनरत् रहेका छन् । विराटनगरको महेन्द्र माविले कम्प्युटर शिक्षामा जोड दिएको छ । अडियो भिजुअल कक्षामा जोड दिएपछि निजी विद्यालयकै हाराहारीमा गुणस्तरीय र सुविधा सम्पन्न पूर्वाधारको उपभोग गरी पठनपाठन गरिँदै आएको प्राचार्य चन्द्रप्रसाद साहले जानकारि दिएका छन् ।
त्यस्तै जनता मावि परिसरमा बहुप्राविधिक शिक्षालय सुरु गरिएको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए। प्राविधिक शिक्षामा विपन्नको पहुँच पुगेको उनको भनाई रहेको थियो । महानगर प्रमुख पराजुलीले आफ्नो पारिश्रमिक हस्तान्तरण गरी दुई आधारभूत विद्यालयमा भौतिक पूर्वाधार निर्माण गर्न सहयोग गरेको र नगरका अन्य आधारभूत विद्यालयको उनले नियमित अनुगमन गर्दै आएका छन् ।
प्रतिक्रिया