ऊनको अभावमा चर्खा चल्न छोड्यो

नेपालखोज २०७८ चैत १६ गते १२:४०

गरेश्वर । उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यावसायिकरुपमा भेडापालन हुँदै आए पनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ । गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेका स्थानीयवासीले बताएका छन् ।

भेडापालनबाट गाउँलेले राम्रो आम्दानीसमेत गर्दै आएका भए पनि भेडा मासुका रुपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यावसायिक फाइदातर्फ किसानहरुको ध्यान जान सकेको छैन । भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्यम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने मल्काबाङका पुनम छन्त्यालले बताइन् ।

भेडाको रौँबाट बनेका ऊनका कपडाको माग देश–विदेशमा समेत उच्च रहे पनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्तिको अभावमा दोहोरो आम्दानीबाट वञ्चित हुनु परेको भेडापालक कृषकहरुको भनाइ रहेको छ । ऊनबाट बन्ने कपडाहरू (हापदुला, काम्लो, बख्खु, घुम) को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको पाइन्छ । गाउँघरका बूढापाकाहरुले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवाहरु परम्परागत सीप सिकेर जीविकोपार्जन गर्नुभन्दा विदेश गएर केही वर्ष दुःख गरी पैसा कमाउनतर्फ लालायित हुने गरेकाले गाउँघरमा चर्खा चल्न छोडेका मालिका गाउँपालिका–५ देविस्थानका टेकबहादुर बुढाले बताए ।

प्रतिक्रिया