आचारसंहिताको पालना गरे/नगरेको अनुगमन गर्ने अधिकार दलहरुलाई

नेपालखोज २०७८ चैत १७ गते १५:५२

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिताको पालनामा राजनीतिक दल र उम्मेदवारहरु कत्तिको प्रतिवद्ध छन् भनेर आयोगले हेर्न चाहेको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचारसंहिता पालना नगर्ने दल र उम्मेदवारलाई कारबाहीका लागि सिफारिस गर्ने अधिकार पनि आयोगले उनीहरुलाई नै दिएको स्पष्ट पारे ।

आज ललितपुरमा आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा निर्वाचन सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सुशासन र सदाचारको कुरा गर्ने राजनीतिक दल र उम्मेदवारहरुले आचारसंहिताको पालना आफूले गरे/नगरेको आफैंले अनुगमन गर्नुपर्ने पनि बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले सबैले अनुशासित ढंगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरेर देखाउने काम गर्नुपर्ने स्पष्ट पारे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जनताको मत, अभिमत पैसा र पदले खरिद विक्री गर्न सकिदैन भन्ने मान्यताको आधारमा निर्वाचनमा खर्चको सीमा तोक्ने काम आयोगले गरेको बताए । उनले गाउँपालिकाको अध्यक्षका लागि तोकिएको निर्वाचन खर्चको सीमा नपुग हुने प्रमाण ल्याए आफूहरु त्यसमा पुनरावलोकन गर्न तयार रहेको पनि बताए ।

राजनीतिक दलहरुले निर्वाचन खर्च महंगो भयो भनेर आफैं भन्ने तर त्यसको सीमा तोक्दा विरोध गर्न नमिल्ने उनको तर्क छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन खर्च धेरै भए लोकतन्त्र खतरामा पर्नेतर्फ पनि राजनीतिक दल र उम्मेदवारहरुलाई सचेत गराए ।

कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले निर्वाचन खर्चिलो भए लोकतन्त्रनै खतरामा पर्ने भन्दै त्यसमा मितव्ययिता अपनाउन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे । उनले निर्वाचनमा धेरै खर्च भए त्यसबाट निर्वाचित हुने जनप्रतिनिधिहरुले सुशासन नभई त्यसको उल्टो काम गर्नुपर्ने अवस्था आउनेतर्फ पनि स्मरण गराए । पूर्वप्रधानन्यायाधीश श्रेष्ठले लोकतन्त्रको सुदृढिकरणका लागि चुनावमा मितव्ययी ढंगले खर्च गर्ने कुरा राजनीतिक दलहरुको संस्कृतिमा निर्भर रहने पनि उल्लेख गरे ।

प्रतिक्रिया