बुधबार, असार १८, २०८२

कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू भयो : विप्लव

नेपालखोज २०७८ चैत १७ गते १८:१९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालमा एमसीसी लागू हुन नसक्ने दाबी गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको प्रथम राष्ट्रिय भेलामा विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छ ।

एमसीसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागू गर्न नसकिने उनले बताए । उनले भने, ‘अब एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छ । हामीले यो अभियान गाउँ-गाउँसम्म पुर्‍याउनुपर्छ । र हाम्रो पार्टीको सोचाइ छ की यो लडाइँमा पनि हामीले प्रगतिशील शक्तिहरूलाई, देशभक्त शक्तिहरूलाई, क्रान्तिकारी शक्तिहरूलाई एकतावद्ध गराउन गाउँसम्म जानुपर्छ र राष्ट्रघाती, एमसीसी पक्षधर, देश बेचेर खाने या देशलाई संसदबाट आफ्नो एकाधिकार जसरी बेच्न खोज्ने दलाल पुँजीपति वर्गको विरुद्धको लडाइँमा गाउँसम्म पुर्याउनुपर्छ र एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान हामीले सञ्चालन गर्नुपर्छ ।’

उनले नेपालको संसद् र संसद्वादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए । नेपाली जनताको आकांक्षाहरू पुरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको उनको भनाई छ । उनले कसैको स्वार्थका लागि नेपालमा एमसीसी लागू हुन नसक्ने भन्दै यसविरुद्ध मोर्चा खोल्नुपर्नेमा जोड दिए । नेपालमा साम्राज्यवादको हस्तक्षेप रोक्नुपर्ने विप्लवले बताए । नेपाल र नेपाली गरिब भएर समस्या नआएको भन्दै नेपालको दलाल पुँजीवादी सत्ताका कारण समस्या पैदा भएको उनको टिप्पणी छ ।

उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुवीकरण भइरहेको उल्लेख गर्दै आफुहरु प्रगतिशील, देशभक्त र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए । उनले एमसीसीका पक्षधरहरुलाई दलाल पुजीपति वर्गको संज्ञा दिँदै उनीहरु विरुद्धको लडाइँलाई गाउँसम्म पुर्‍याउनुपर्ने बताए ।

दलाल पुँजीवादी सत्ताले नेपाली जनतालाई लुछिरहेको दाबी गर्दै विप्लवले अब गाउँगाउँबाट एमसीसी पक्षधरलाई लखेट्नुपर्ने बताए । उनले भने, ‘आज नेपालमा एउटा लडाइँ चलिरहेको छ । एउटा ध्रुवीकरण चलिरहेको छ । राष्ट्रघात गर्ने मान्छेहरु अनेक किसिमको खेल लिएर आएका छन् र अहिले चुनावको एउटा हतियार चलिरहेको छ । प्रयोग भइरहेको छ । नेपाल ध्रुवीकरण हुँदैछ । देशभक्त र देशघातीहरुको बीचमा । राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा । दलाल र स्वाभिमानी नागरिकबीच एउटा ध्रुवीकरण हुँदैछ । यो प्रक्रियालाई हामीले तिव्रता दिनुपर्छ ।’

प्रतिक्रिया