‘स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन गरेरै अघि बढ्नुपर्छ’
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढ्नुपर्ने अवस्था रहेको बताएकी छन् ।
जनता समाजवादी पार्टी, नेपालको नेतृसमेत रहेकी मन्त्री यादवले स्थानीय तह निर्वाचनमा सबै ठाउँमा सत्तारुढ दलहरुबीच गठबन्धन नभएपनि ठाउँ हेरेर त्यसको निक्र्यौल हुने पनि स्पष्ट पारिन् । शुक्रबार जनकपुरमा विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि तत्काल चुनावी गठबन्धन हुने अवस्था नरहेको स्पष्ट पारिन् ।
विचार, मन र नियत तीनवटै कुरा नमिल्ने भएकाले सो पार्टीसँग तत्काल चुनावी तालमेल हुने अवस्था नरहेको मन्त्री यादवको तर्क थियो । उनले भनिन्, ‘अहिले हामी गठबन्धन सरकारमा पनि छौं । त्यो विभिन्न ठाउँमा परिस्थितिबश हाम्रो गठबन्धन भएर अगाडि बढने अवस्था छ । हामी सबै ठाउँमा नगरेपनि कुनकुन ठाउँमा कसरी गर्नुपर्छ ? भनेर त्यो चाँही हामी गर्छौ । कुनै पनि सम्भावना समाप्त हुँदैन । राजनीतिमा हरेक सम्भावना परिस्थितिबश अगाडि बढछ । लोसपाको पनि विचार मिल्यो भने हामी सोच्न सक्छौं तर विचारै हामीसँग मिल्दैन । त्यसैकारणले गठबन्धन पनि विचारबाट, मनबाट र नियतबाट मिल्नुपर्छ । नियतै नमिल्दाखेरी त हात जोडेर मात्रै भएन । तर सम्भावना भने अन्त्य हुँदैन ।’
मन्त्री यादवले राजनीतिमा हरेक सम्भावना हुने तर त्यो विचार, मन र नियत नमिल्दा सम्भव नहुने पनि दोहो¥याइन् । उनले परिस्थिति अनुसार विभिन्न दलहरुसँग चुनावी तालमेल गर्दै अघि बढ्ने पनि बताइन् ।
प्रतिक्रिया