सोमबार, वैशाख १५, २०८२

बजारमा विश्वसनीयता बढाउन बिमा कम्पनीहरूलाई अध्यक्ष सिलवालकाे आग्रह

नेपालखोज २०७८ चैत १८ गते १५:५५

काठमाडौं । बिमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले बिमा बजारमा विश्वसनीयता बढाउन र नकारात्मक प्रचार हुन नदिनका लागि सकेसम्म छिटो बिमा दाबी भुक्तानी गर्न बिमा कम्पनीहरूलाई आग्रह गरेका छन् ।

बिमा समितिको आयोजनामा निर्जीवन बिमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत र बिमा सर्भेयर संघ, नेपालका पदाधिकारीहरूसँग बिहिबार काठमाडौंमा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सिलवालले भने, ‘बिमा सर्भेयरबाट समयमै क्षतिको मूल्याङ्कन भयो र बिमा कम्पनीबाट पनि समयमा नै बिमा दाबीको भुक्तानी भयो भने बिमा बजारमा विश्वास बढ्छ र बिमाको दायरा समेत बढ्छ, प्रत्येक वर्ष बिमाको कारोवार बढ्दै गएको छ, जोखिमका प्रकार बढ्दै छन्, बिमाको दाबी बढेको छ, बीमा सर्भेयर क्षति मूल्यांकनका लागि समयमा नगएका धेरै गुनासा आएका छन्, सर्भेयरको व्यवहार राम्रो भएन भन्ने पनि गुनासा छन्, बिमा सर्भेयरले आफूले लिएको क्षति मूल्याङ्कनको जिम्मेवारी समयमा नै पूरा गर्नु पर्यो, बीमा कम्पनीले पनि बिमा दाबी भुक्तानी र बीमा सर्भेयरको फी ढिलाई नगरी भुक्तानी गर्नुपर्यो पशु मर्यो, बाली बिग्रियो बिमा रकम पाइएन भन्ने गुनासा आउनु भएन, पीडितले समयमा नै बिमा रकम पाउनु पर्यो, कमी कमजोरीलाई सुधारेर अगाडि बढ्नु पर्यो ।’

आगामी १० वर्षमा वित्तीय क्षेत्रमा बीमा क्षेत्र सबैभन्दा अगाडि हुने उल्लेख गर्दे अध्यक्ष सिलवालले देशका हरेक नागरिकले बिमाबाट प्रतिफल पाउन सक्नु र बिमा जोखिमको बेलाको साथी बनोस् भनेर बिमा समितिले राष्ट्रिय बिमा नीति ल्याउन र त्ससअनुसार प्रदेश तथा स्थानीय तहमा बिमा नीति निर्माण गर्न पहले गरे अनुसार त्यसले सार्थकता पाउन थालेको बताए । अन्तरक्रिया कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिदैँ बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा सर्भेयरहरू स्वतन्त्र भएकाले स्वतन्त्ररूपले क्षति मूल्यांकन प्रतिवेदन तयार गरी छिटोभन्दा छिटो बीमा कम्पनीमा बुझाउनुपर्ने बताए ।

कार्यकारी निर्देशक पौडेलले बिमा सर्भेयरले क्षति मूल्याकनको पूर्ण प्रतिवेदन बुझाउन समय लाग्ने भए तत्काल प्रारम्भिक प्रतिवेदन बीमा कम्पनीमा बुझाउनुपर्ने उल्लेख गर्दे बीमा सर्भेयरले प्रतिवेदन बुझाएपछि समयमै सर्भेफी पनि भुक्तानी गर्न बिमा कम्पनीहरूलाई आग्रह गरेको छ । बिमा समितिका उपनिर्देशक विरोध भट्टले बिमा सर्भेयर सम्बन्धी व्यवस्था बारेको जानकारीमूलक प्रस्तुती गरेको कार्यक्रममा नेपाल बिमा संघका अध्यक्ष चंकी क्षेत्री र बीमा सर्भेयर संघ, नेपालका अध्यक्ष मोहनपुरूष ढकालले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बिमा समितिका निर्देशकहरू कमल प्रसाद रेग्मी, सुशीलदेव सुवेदी, पूजन ढुङ्गेल (अधिकारी) र दिनेश कुमार लाल, निर्जीवन बिमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरू तथा बिमा सर्भेयर संघ, नेपालका वर्तमान तथा निवर्तमान पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया