मंगलबार, मंसिर १८, २०८१

आयल निगम निरन्तर घाटामा, १५ दिनमा ५ अर्ब २१ करोड नोक्सानी

नेपालखोज २०७८ चैत १८ गते १७:५१

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमका सह–प्रवक्ता पुस्कर कार्कीले आज एक विज्ञप्ति जारी गर्दै नयाँ मूल्य अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सामान्य थपघट भई प्रति लिटर डिजेलमा ०.०२, मट्टितेलमा २२.१९, हवाई इन्धनमा ४.२३ तथा एलपी ग्यास प्रति सिलिण्डर २७३.३८ रुपैयाँले बढेर आएको जानकारी गराएका छन् ।

आगामी १५ दिनमा करीब ५ अर्ब २१ करोड रुपैयाँ घाटा हुने स्थिति देखिएको पनि निगमले जनाएको छ । हालको विक्री मूल्य पेट्रोल १५५ रुपैयाँ डिजेल/मट्टितेल १३८ रुपैयाँ रहेको छ । भने हवाई इन्धन आन्तरिक तर्फ १५१ र हवाई इन्धन बाह्य तर्फ प्रतिकिलो लिटर १.४९५ अमेरिकी डलर रहेको छ ।

निगमले चालू आर्थिक वर्ष २०७८/७९ को हालसम्म करीब ३२ अर्व नोक्सानी व्यहोरी सकेको छ ।र, पछिल्लो मूल्य प्राप्त भएपश्चात् निगमलाई प्रति महिना करीब १० अर्व भन्दा बढी नोक्सानी हुने स्थिति रहेको निगमका सह–प्रवक्ता पुस्कर कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निगमको संचिती रकम र अन्य दायित्व रकमहरू सबै पेट्रोलियम पदार्थको खरिदमा सकिए पछि निगमले नेपाल सरकार मातहतमा रहेको मुल्य स्थिरीकरण कोष तथा ईन्धन बिक्रीबाट प्राप्त रकम संकलन गरी ईण्डियन आयल कर्पोरेशनलाई पेट्रोलियम पदार्थ खरिद वापतको रकम भुक्तानी गरिरहेको छ ।

हाल निगमको विकास निर्माणका नयाँ कामहरु सबै स्थगित गर्ने सोचमा रहेको निगमले पेट्रोलियम पदार्थ खरिद वापत आवश्यक पर्ने रकम जुटाइ आपूर्ति व्यवस्था सहज बनाई राख्न आगामी दिनहरूमा निगमलाई अत्यन्त कठिन हुने पनि जनाइएको छ ।


प्रतिक्रिया