शनिबार, जेठ ५, २०८१

‘बजार विस्तार गर्न ब्रोकरहरु थप्ने कामको प्रक्रिया अघि बढाएका छौं’

अनलाइन मिडियाका साथीहरुले बोर्ड विज्ञप्ति राम्रोसँग पढ्दै नपढी गलत किसिमको सूचना सम्प्रेषण गरिदिनुभयो । जसले पब्लिकमा भ्रम सिर्जना गर्‍यो ।

नेपालखोज २०७८ असार ५ गते १७:०६

‘अहिले एकैजनाले धेरैको आईपीओ भर्ने गरेका छन्, इन्भेस्टरको संख्या र पहुँच बढाउन यो ठीकै हो’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नयाँ स्टक एक्सचेन्ज (ब्रोकर) हरु थप्ने प्रक्रिया अघि बढाएको बताएका छन् । उनले बजार विस्तारका लागि ब्रोकरहरु थप्ने प्रक्रिया अघि बढाइएको बताए । उनले भने, ‘बजार विस्तार गर्न ब्रोकरहरु थप्ने कामको प्रक्रिया अघि बढाएका छौं ।’ नेपालखोजसँगको कुराकानीमा बोर्ड अध्यक्ष ढुंगानाले अहिलेकै अवस्थामा नेप्से र सीडीएससीको सिस्टमले धान्ने भए पनि यसको सुधार आवश्यक रहेको बताए । ‘अहिलेको अवस्थामा जुन किसिमले बजार सञ्चालन भइरहेको छ यसलाई नेप्से र सीडीएससीको सिस्टमले धान्न सक्छ । तर पनि सिस्टम सुधारका कार्य अझ अघि बढाउन आवश्यक छ,’ उनको भनाइ छ ।
अध्यक्ष ढुंगानाले हालै मात्र बोर्डले जारी गरेको विज्ञप्तिलाई अनलाइनहरुले राम्रोसँग पढ्दै नपढी गलत रुपमा सूचना सम्प्रेषण गरेको आरोपसमेत लगाएका छन् । ‘अनलाइन मिडियाका साथीहरुले हाम्रो विज्ञप्तिलाई राम्रोसँग पढ्दै नपढी अलिकति गलत किसिमको सूचना सम्प्रेषण गरिदिनुभयो । जसले पब्लिकमा भ्रम सिर्जना गर्‍यो,’ अध्यक्ष ढुंगानाले भने ।
यिनै विविध विषयमा बोर्ड अध्यक्ष भीष्म ढुंगानासँग नेपालखोजका लागि जगत भण्डारीले विशेष कुराकानी गरेका छन् । बोर्डले विगतमा गरेका, अहिले गरिरहेका र भविष्यमा गर्न लागेका विषयमा गरिएको कुराकानी :

हाइलाइट्स :

– पहिलोपटकको लकडाउनमा नेपाल धितोपत्र बोर्डलाई पनि धक्का लागेको थियो । ९० दिन बजार नै बन्द गर्नुपर्‍यो ।
– अहिले सबै काम अनलाइबाट गर्न सकिने व्यवस्था भएकाले अर्थतन्त्रका अरु क्षेत्र प्रभावित भए पनि धितोपत्र बोर्ड एक्टिभ छ ।
– अहिलेको लकडाउनमा सबै इकोनोमिक एक्टिभिटीमा इनभल्भ भएका मानिसहरु पुँजी बजारममा आकर्षित भएका छन् ।
– पुँजी बजारमा कोभिडको पोजेटिभ इम्पयाक्ट परेको छ ।
– पोहोर सालसम्म अनलाइन कारोबार गर्ने १८/१९ हजारमात्र नियमित ग्राहक थिए । अहिले ६ लाख पुगेको छ ।
– हामीले यो एक वर्षको अवधिमा नेप्सेको सिस्टम र सीडीएससीको सिस्टममा धेरै नै अपडेट गरेका छौं ।
– अहिलेको अवस्थामा जुन किसिमले बजार सञ्चालन भइरहेको यसलाई नेप्से र सीडीएससीको सिस्टमले धान्न सक्छ । तर पनि सिस्टम सुधारका कार्य अझै अघि बढाउन आवश्यक छ ।
– अनलाइन मिडियाका साथीहरुले हाम्रो विज्ञप्तिलाई राम्रोसँग पढ्दै नपढी अलिकति गलत किसिमको सूचना सम्प्रेषण गरिदिनुभयो । जसले पब्लिकमा भ्रम सिर्जना गर्‍यो ।
– सेयरबजार घट्ने अथवा बढ्ने हामीले गर्ने कुरा होइन ।
– म नियुक्त हुँदा ६ वटा क्षेत्रमा मेरो प्राथमिकता छ भनेको थिएँ । ६ वटा क्षेत्रका प्राथमिकता पूरा गर्न पोहोर साल हामीले वार्षिक नीति कार्यक्रममार्फत सम्बोभन गर्‍यौं ।
– यो वर्षदेखि हामीले रणनीतिक योजना (स्टाटेजिक प्लान) बनाएका छौं । यसमा आजको क्यापिटल मार्केटलाई ४ वर्षपछि कुन स्थितिमा लाने हामीले हरेक एक्टिभिटिज, हरेक एक्सन, हरेक कुराहरु कुन-कुन टाइममा पूरा गर्ने भनेर हामीले निधो गरेका छौं । त्यो स्टाटेजिक प्लानअनुसार हाम्रो चार वर्षका विभिन्न कार्यक्रमहरु छन् । त्यो स्टाटेजिक प्लान हामीले वेबसाइटमा राखेका छौं । अबको चार वर्षमा धितोपत्र बजार कहाँ पुग्छ यसले छर्लंग पार्छ ।
– लकडाउन हुनेबित्तिकै बन्द हुने बजार हामीले सञ्चालन गर्न सक्यौं ।
– बजार विस्तार गर्ने सन्दर्भमा हामीले ब्रोकरहरु थप्ने कामको प्रक्रिया अघि बढाएका छौं ।
– ब्रोकरहरुको टीएमएस नै आधुनिक भएन कि ? अहिले चलाइरहेको सिस्टमबाट ग्राहकहरुले हाम्रा लगानीकर्ताले राम्रो सुविधा पाउन सक्ने अवस्था छैन ।
– ग्राहक तथा लगानीकर्ताले पर्फेक्ट सिस्टम खोजिरहेका छन् । जसका लागि हामीले काम सुरु गरिसकेका छौं । आउने ५/६ महिनामा ग्राहकहरुले धेरै राम्रा सुविधाहरु पाउनुहुनेछ ।
– पोहोर सालसम्म दैनिक ४५ करोड कारोबार हुन्थ्यो । अहिले औसतमा ११ अर्बको कारोबार हुन्छ ।
– लगानीकर्ता झन्डै ४० लाख पुगेका छन् र संख्या पनि अझै बढ्दै गइरहेको छ ।
– अहिले एकैजनाले धेरैको आईपीओ भर्ने गरेका छन् । इन्भेस्टरको संख्या र पहुँच बढाउन यो ठीकै छ ।
– धितोपत्र ऐन-नियमहरु पर्याप्त छैनन् । धितोपत्र बोर्डसम्बन्धी ऐन र धितोपत्र कारोबारसम्बन्धी ऐन एकै ठाउँमा गाजेमाजे भएको छ । कहाँ के भन्न खोजेको स्पष्ट छैन ।
– अहिलेसम्म नेपाल सरकारका विभिन्न निकायबाट बार्डले जति सहयोग पाउनुपर्ने हो त्यो पाएको छ ।

प्रतिक्रिया