शुक्रबार, मंसिर २८, २०८१

प्रधानमन्त्री देउवालाई दिल्लीमा भारतका राज्यमन्त्रीले स्वागत गरे (फोटो फिचर)

नेपालखोज २०७८ चैत १८ गते १८:०४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा तीन दिने भ्रमणका लागि देउवा आज भारततर्फ गएका हुन् । ४० सदस्यीय टोलीको नेतृत्व गर्दै गएका प्रधानमन्त्री देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

दिउँसो साढे १ बजे काठमाडौंबाट नेपाल वायु सेवा निगमको जहाजमार्फत गएका देउवा ४ बजे नयाँदिल्लीस्थित इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । देउवासँग स्थानीय समयअनुसार आज ४:३० बजे भारतीय विदेशमन्त्री एस. जयशंकरले नयाँदिल्लीस्थित होटल आईटीसीमा शिष्टाचार भेट गरे ।

देउवा भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा जाने कार्यक्रम समेत आजै रहेको छ । भ्रमणका दौरानमा स्वास्थ्यसँग सम्वन्धित केही विषयमा समझदारी गर्ने गरी छलफल हुने स्वास्थ्यमन्त्री खतिवडाका प्रेस सल्लाहकार शान्तराम विडारीले जानकारी दिए । भ्रमणमा स्वास्थ्य मन्त्रालय अन्र्तगतका विषयमा सहमति हुने भएकाले मन्त्री र सचिव सो टोलीमा सहभागी भएको उनले बताए । उनका अनुसार भारतले मन्त्रालयलाई २ सय थान डायलाइसिस मेसिन दिने, तनहुँको दुलेगौंडास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउन सघाउने लगायतका विषयमा समझदारी हुँदैछ ।

साथै नेपाल र भारतका एमडिएमएस विद्यार्थीलाई दुवै देशले मान्यता दिने समझदारीपत्रमा हस्ताक्षर हुने समेत बिडारीले बताए । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाको टोलीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा.रोशन पोखरेल पनि सहभागी छन् ।

प्रतिक्रिया