मंगलबार, मंसिर १८, २०८१

‍ओलीको प्रश्न- दिल्लीस्थित नेपाली दूतावासमा चुच्चेनक्सा किन नराखिएको प्रधानमन्त्रीजी

नेपालखोज २०७८ चैत २० गते १५:२०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएर राष्ट्रिय दलाली गरेको आरोप लगाएका छन् । बुद्धिजीवी परिषद्को महाधिवेशनमा अध्यक्ष ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न समेत गरे ।

दिल्लीस्थित नेपाली दूतावासमा चुच्चेनक्सा नराखिएको विषयमा पनि ओलीले प्रधानमन्त्री देउवालाई दोषी देखाए । उनले भने, ‘नेपालको दिल्लीस्थित राजदूतावासमा टाँगिएको फोटोमा त्या नेपालको नक्सा बुच्चे नक्सा राखिया छ ? योभन्दा राष्ट्रिय दलाली, योभन्दा राष्ट्रको गौरव निहुराउने, योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’

ओलीले आफ्नो पार्टीको सरकार पाँच वर्ष टिक्न नदिन आपराधिक कर्ममा लागेका प्रचण्ड-माधव नेपाल अहिले कांग्रेसको पछिपछि दूनो थापेर हिँडेको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले लिम्पियाधुरासहितको नक्सा निकालेकै दिनदेखि आफ्नो सरकार ढाल्न तत्कालीन नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपालले अनेक षड्यन्त्र रचेको आरोप लगाए । ओलीले भने, ‘चुच्चे नक्सा छाप्दा यिनको मन दुख्यो अनि कम्युनिस्ट सरकार ढाल्न हाम्फालेर हिँडेका हुन् । यिनीहरूले सकेका भए त कम्युनिस्ट आन्दोलन नै सिद्ध्याउने, पार्टी कब्जा गर्ने योजना थियो । तर हामीले सफल हुन नदिएपछि आफ्नै सरकार कांग्रेसलाई बुझाउन अदालततिर गए ।’

दूतावासमा पनि बुच्चे नक्सा राखेको उनको आरोप लगाउदै ओलीले भने, ‘हाम्रो संविधानले भनेको रहेको नक्सा, हाम्रो सरकारले बनाएको नक्सा त्यो नक्सा झुण्ड्याएर फर्किनुहुन्छ कि, हटाएको राखेर फर्किनुहुन्छ शेरबहादुर जी ? प्रधानमन्त्रीज्यू भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?’

प्रतिक्रिया