बिहीबार, मंसिर २७, २०८१

भोलि पीएनजी र नेपाल फाइनलमा भिड्दै, कप्तान सन्दीपले भने- उपाधि घरमै राख्छाैं

नेपालखोज २०७८ चैत २० गते १८:१८

काठमाडाैं । त्रिदेशीय अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा अपराजित रहँदै फाइनल प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले सोमबार पपुवा न्यु गिनीविरुद्ध उपाधिका लागि खेल्ने बताएको छ । आइतबार शृखंलाको ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान सन्दिप लामिछानेले फाइनलमा पनि सुखद नतिजालाई निरन्तरता दिँदै उपाधि घरमै राख्ने बताए ।

घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने सन्दीपले बताए । नेपाल र पीएनजीबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजे हुनेछ । यस्तै पीएनजीका कप्तान आसाद भालाले पनि अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालको सामना गर्ने बताए ।

शृखंलाअन्तर्गत अन्तिम खेलमा नेपालले शनिबार भ्रमणकारी टोली मलेसियामाथि ८५ रनको जित निकाल्दा पीएनजीले फाइनलमा स्थान बनाएको थियो । शृखंलाको पहिलो र दोस्रो खेलमा नेपालले पीनजीलाई क्रमश १५ र ३७ रनले पराजित गरेको थियो भने एक दिवसीय शृखंलाको नतिजामा पीएनजीले २-० ले क्लिन स्विप गरेको थियो ।

अंक तालिकामा नेपालले सबै खेल जित्दै ८ अंक बनायो । यता मलेसिया र पीएनजीले एक-एक खेल जित्दै दुई-दुई अंक बनाए । एक खेलमा पीएनजीले मलेसियालाई र अर्को खेलमा मलेसियाले पीएनजीलाई पराजित गर्‍यो । मलेसियालाई नेट रनरेटका आधारमा पछि पार्दै पीएनजी फाइनलमा स्थान बनाउन सफल भयो ।

त्रीवीको खेल मैदानमा उच्चस्कोरको रन बनिरहेको छ । नेपालले आफ्ना अन्तिम दुई खेलमा २ सय रनभन्दा बढी रन जोड्न सफल भएको थियो । नेपालका ब्याटर दीपेन्द्रसिंह उच्च फर्ममा छन् । अन्य खेलाडीको फर्म पनि राम्रो भएकाले नेपाल उपाधि घरमै राख्नेमा ढुक्क छ ।

प्रतिक्रिया