जनसांस्कृतिक महासंघमा अधिकारी
काठमाडौं । नेकपा (एमाले)सँग आबद्ध राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत रूपमा चयन भएको छ ।
महासंघको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र सामर्थ्यका आधारमा संगठननलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।
आइतबार राति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुंगेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव र कोषाध्यक्ष सिन्धु जलेसा बुढाथोकी निर्वाचित भएका छन् ।
एमालेको जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालको उपस्थितिमा सुरु भएको बन्दसत्रमा अध्यक्षमण्डलका अध्यक्ष खगेन्द्र राईले सहमतिका आधारमा उक्त नामावली घोषणा गरेका थिए ।
बन्दसत्रबाट सांगठनिक र आर्थिक प्रतिवेदन तथा घोषणापत्र मस्यौदा समितिका तर्फबाट यशोदा अधिकारीद्वारा प्रस्तुत ११ बुँदे समसामयिक प्रस्ताव पारित भएको थियो ।
यही चैत १८ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए भने शनिबार महासंघ मातहतका विभिन्न सात विधागत घटकको अधिवेशन सम्पन्न भएको थियो । रासस
प्रतिक्रिया