बिहीबार, मंसिर २७, २०८१

अन्तर्राष्ट्रिय समुदायले भन्यो- युक्रेनी सहर बुचामा भएको नरसंहार निन्दनीय छ

नेपालखोज २०७८ चैत २१ गते ९:४४

किएभ । युक्रेनी नगर बुचामा भएको आम हत्याप्रति अन्तर्राष्ट्रिय समुदायले निन्दा व्यक्त गरेका छन् । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्कनले त्यहाँ छरिएका कंकालहरूको दृश्य निराशाजनक भएको बताएका छन् । जर्मनी, फ्रान्स, ब्रिटेन र नेटोका नेताहरूले आफूहरू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् । युरोपेली आयोगका प्रमुखले रुसविरुद्ध थप प्रतिबन्धहरू लगाउने प्रतिवद्धता जनाएका छन् ।

भिडिओमा सर्वसाधारणहरूको शव शहर र पछाडिपट्टिका गल्लीहरूमा त्यसै छाडिएको र कतिपयका हातहरू पछाडिबाट बाँधिएको पाइएको थियो । रुसले ती तस्बिरको सत्यताबारे प्रश्न उठाउँदै बुचामा युक्रेनी कट्टरपन्थीका उत्तेजनात्मक कदमबारे छलफल गर्न सुरक्षा परिषद्को आपत्कालीन बैठक डाकिनुपर्ने अनुरोध गरेको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुस विरुद्धको लडाइँ जित्ने बताएका छन् । युक्रेनी सर्वसाधारणहरूलाई रुसले निशाना बनाएकोमा निन्दा गर्दै एउटा भिडिओ सन्देशमार्फत उनले त्यस्तो बताएका हुन् ।
यसअघि युक्रेनका अभियोजकहरूले चार सय भन्दा बढी शवहरू किएभ नजिकैका नगरहरूमा फेला परेको बताएका थिए । जेलेन्स्कीले रुसले ती क्षेत्रहरूबाट फिर्ता हुने क्रममा युक्रेनीहरूविरूद्ध नरसंहार गरेको भन्दै रुसी अपराधलाई दण्डित गर्न नयाँ प्रतिबन्धहरू मात्रै पर्याप्त नहुने बताए ।

किएभ नजिकैको एउटा युद्ध क्षेत्रबाट रुसी फौजहरू फर्कने क्रममा जथाभाबी हत्या गरिएकाे दाबी गरिएकाे छ। युक्रेनी विदेशमन्त्रीले रुसी फौजले ’योजनाबद्ध रूपमा नरसंहार मच्चाएको’ दाबी गरेका छन् । उक्त शहरबाट लिइएका तस्बिरमा व्यापक विध्वंश र छरिएका शवहरू देखिन्छन् । युक्रेनी फौजले कम्तीमा २० जना मृत पुरुषका शव फेला पारेको र त्यसमध्ये कतिपयका हात पछाडिबाट बाँधिएको अवस्थामा भेटिएका छन् ।

एउटा अमेरिकी प्रविधि फर्मले बुचामा सामूहिक चिहान पत्ता लगाएको ठाउँमा ४५ फुट गहिरो खाडल रहेको भूउपग्रहका तस्बिरले देखाएको जनाएको छ । मार्च ३१ मा लिइएका तस्विर म्याक्सर टेक्नोलोजिजले लिएको हो र त्यहाँ खन्ने काम भएको संकेत मार्च १० बाट नै देखिएको उल्लेख गरेको छ । ती तस्बिरलाई पुष्टि गर्न नसकेको बीबीसीले जनाएको छ । तर सीएनएनको एउटा टोलीले उक्त सामूहिक चिहान स्थलमा शवहरू देखेको जनाएको छ ।- बीबीसी

प्रतिक्रिया