बिहीबार, मंसिर २७, २०८१

काठमाडौं विश्वमा प्रकृति र संस्कृतिको संगम थलोको रुपमा परिचित : राष्ट्रपति

नेपालखोज २०७८ चैत २१ गते १६:०३

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले जनप्रतिनिधिहरुले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुनेगरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिहरुलाई आग्रह गरिन् ।

पूरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको आज काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उनले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सम्बन्धित पक्षले विशेष महत्व दिनुपर्ने बताइन् ।

त्यसैगरी काठमाडौं उपत्यकाको हरियाली प्रवर्द्धन गर्ने, पानीमा मूलहरु बचाउने र जैविक विविधताहरुको रक्षा गर्ने कार्यमा पनि जोड दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाई थियो । उनले काष्ठमण्डप पुनर्निर्माणको काममा योगदान दिएको भन्दै काठमाडौं महानगरपालिका, पुरातत्व विभाग, सम्पदावीद्हरु र स्थानीयबासीलाई पनि धन्यवाद दिइन् । राष्ट्रपति भण्डारीले आफ्नै स्रोत, साधन र सीपको परिचालन गरी काष्ठमण्डप पुनर्निर्माणको काम गर्नु राष्ट्रकै लागि खुशीको विषय भएको बताइन् ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै सम्पदाप्रेमीहरु उत्साहित हुनेगरी आफूहरुले सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाएको दाबी गरिन् । उनले काष्ठमण्डप पुनर्निर्माणको क्रममा देखिएको विवाद समाधानका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीप्रति पनि आभार व्यक्त गरे ।

मेयर शाक्यले सम्पदाहरुको पुनर्निर्माणका लागि स्थानीयबासीको सहयोग उल्लेखनीय रहेको पनि स्मरण गराए । उनले २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको बाँकि सम्पदाहरुको पुनर्निर्माणको काम पनि छिट्टै सम्पन्न गर्ने आश्वासन दिए ।

प्रतिक्रिया