शनिबार, जेठ ५, २०८१

फैलिँदै ‘वेस्ट नाइल’ भाइरस ? यस्तो छ उपचारविधि !

नेपालखोज २०७८ भदौ १७ गते १४:१८

मस्को । कोरोना भाइरसको महामारीबीच संसारमा अहिले एउटा नयाँ महामारीको खतरा पनि मडारिइरहेको छ । रूसले यसपटकको शरद ऋतुमा वेस्ट नाइल भाइरसको (डब्ल्यूएनभी) संक्रमण बढ्नसक्ने चेतावनी दिएको छ । किनभने शरद ऋतुमा हल्का तापमान र वर्षाबीच फैलने यो लामखुट्टेका लागि अनुकूल परिस्थिति निर्माण हुनेछ ।
वेस्ट नाइल मूल रूपले अफ्रिकाको भाइरस हो जुन अहिले एसिया, युरोप तथा उत्तरी अमेरिकासम्म पुगिसकेको छ । लामखुट्टेले टोकेपछि डब्ल्यूएनभी फैलन्छ । यसमा मानिस तन्तुसम्बधी घातक रोगको सिकार हुन सक्छ ।

वेस्ट नाइल फिभरका बढीजसो घटना अहिले रूसको दक्षिण-पश्चिम क्षेत्रमा देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार, मनुष्यका लागि यो भाइरसविरुद्ध कुनै खोप उपलब्ध छैन । यद्यपि घोडालाई यो भाइरसबाट जोगाउने एउटा खोप भने प्रयोगमा छ ।

के हो वेस्ट नाइल भाइरस ?
वेस्ट नाइल एक किसिमको भाइरस हो जसका कारण मानिसमा एउटा संक्रमक रोग फैलन सक्छ । यो भाइरस संक्रमक लामखुट्टेका माध्यमबाट मानिसमा सर्छ । यो रोग संक्रमित क्युलेक्स लामखुट्टेको टोकाइबाट पहिले पक्षीमा र त्यसपछि मानिसमा सर्छ । यसबाट मानिस तन्तुसम्बन्धी घातक रोगको सिकार हुन पुग्छ । विश्व स्वास्थ्य संगठनका अनुसार, यो भाइरस लगभग २० प्रतिशत घटनामा वेस्ट नाइल फिभरको कारण बन्छ । यो भाइरस डेंगु, जीका तथा एलो फिभरको भाइरससँग सम्बन्धित छ ।

संक्रमणको लक्षण
वेस्ट नाइल भाइरसबाट संक्रमित मानिसमा साधारणत: कुनै लक्षण देखिँदैन वा हल्का लक्षण मात्र देखापर्छ । यो रोगको लक्षण टाउको दुख्नु, ज्वरो आउनु, छालामा रातो धब्बा देखिनु , शरीर दुख्नु तथा ग्रन्थी सुन्निनु आदि हो । यो भाइरसको लक्षण केही दिनदेखि लिएर कैयन् सातासम्म रहन सक्छ । साधारणत: ती लक्षण आफैं समाप्त पनि भएर जान्छन् ।

यो भाइरसको उत्पत्ति ?
डब्ल्यूएचओका अनुसार, यो भाइरस पहिलोपटक सन् १९३७ मा अफ्रिकी मुलुक युगान्डाको वेस्ट नाइल जिल्लामा एक महिलामा देखापरेको थियो । डब्ल्यूएनभीको पहिचान सन् १९५३ मा नील डेल्टा क्षेत्रका पक्षी (खास गरी काग तथा परेवा) मा गरिएको थियो ।

वेस्ट नाइल भाइरस कसरी खतरनाक साबित हुनसक्छ ?
यदि वेस्ट नाइल भाइरस मानिसको मस्तिष्कमा प्रवेश गर्‍यो भने यो निकै खतरनाक अर्थात् प्राणघातक साबित हुनसक्छ । यो भाइरस मस्तिष्क सुन्निने कारण बन्न सक्छ जसलाई इन्सेफ्लाइटिस भनिन्छ । यसले रिढको हड्डी र मस्तिष्कलाई घेरेर अर्को समस्या पनि सिर्जना गर्न सक्छ जसलाई मेनेन्जाइटिस भनिन्छ ।

यो भाइरसको जोखिम कसलाई ?
बालबालिका, वृद्ध-वृद्धा तथा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा यो रोगको जोखिम बढी हुन्छ ।

वेस्ट नाइल भाइरसको उपचार ?
अहिलेसम्म मनुष्यका लागि यो वेस्ट नाइल रोगविरुद्ध कुनै विशिष्ट उपचार वा खोप उपलब्ध छैन । संक्रमित लामखुट्टेको टोकाइबाट जोगिनु नै यो भाइरसको संक्रमणबाट जोगिने सबैभन्दा राम्रो उपाय हो । यो रोगको उपचार न्युरोसँग सम्बन्धित रहेर गरिन्छ जसमा बिरामीलाई अस्पताल भर्ना गर्नुपर्ने हुन्छ । यसमा संक्रमणको रोकथाम तथा बिरामीलाई श्वासप्रश्वासमा सहायता प्रदान गर्ने कुरालाई प्राथमिकता दिइन्छ ।
-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया