शुक्रबार, जेठ ४, २०८१

कोरोनाका हाइब्रिड भेरिएन्ट सक्रिय

नेपालखोज २०७८ चैत २१ गते २०:४३

काठमाडौं । विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको एउटा नयाँ म्युटेन (जसलाई एक्सई नाम दिइएको छ) ओमिक्रोनको बीए.टू उप-भेरिएन्ट को तुलनामा लगभग दश प्रतिशत बढी संक्रमणकारी छ ।

अहिलेसम्म ओमिक्रोनको बीए.टू सब-भेरिएन्ट, कोभिड-१९ को सबैभन्दा संक्रामक स्ट्रेन मानिन्थ्यो । बीए.टू उप-भेरिएन्ट संसारको विभिन्न क्षेत्रमा फैलिएको छ र यो अमेरिकामा देखापरिरहेका नयाँ बिरामीका लागि प्रमुख जिम्मेवार मानिएको छ ।

एक्सई के हो ?
एक्सई (XE) भेरिएन्ट ओमिक्रोनका दुई सब भेरिएन्ट बीए.वान तथा बीए.टू मिलेर (रि-कम्बिनेट स्ट्रेन) बनेको हो । अहिले यो संसारमा केही बिरामीका लागि मात्र जिम्मेवार छ । ओमिक्रोन बीए.टूभन्दा १० गुणा बढी संक्रामक एक्सई (XE) भेरिएन्ट ओमिक्रोनको ओरिजनल भेरिएन्ट भन्दा ४३ प्रतिशत बढी संक्रामक भएको बताइएको छ ।

कहाँ फेला पर्यो ?
डब्ल्यूएचओको यो साताको सुरुमै जारी एक रिपोर्टअनुसार , ‘एक्सई रि-कम्बिनेट (बीए.वान-बीए.टू) पहिलोपटक १९ जनवरीका दिन यूकेमा फेला पारिएको थियो ।’

विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘सुरुवाती अनुमानअनुसार बीए.टूको तुलनामा १० प्रतिशत संक्रामक देखिए पनि यसमा थप अध्ययन तथा पुष्टि को आवश्यकता छ ।’ डब्ल्यूएचओका अनुसार जबसम्म एक्सई म्युटेनको गाम्भीर्य, संरचनासहित विशेषताहरुको विस्तृत जानकारी प्राप्त हुँदैन तबसम्म यो ओमिक्रोनकै एक हिस्साका रूपमा वर्गीकृत रहनेछ ।

अन्य म्युटेन
यूके स्वास्थ्य सुरक्षा एजेन्सी (यूकेएचएसए) को एक अध्ययन भन्छ, अहिले कोरोनाका तीन नयाँ भेरिएन्ट सक्रिय हुन खोज्दै छन्- एक्सडी, एक्सई तथा एक्सएफ । कोरोनाको पुनः संयोजित भेरिएन्ट त्यो हो जुन दुई पूर्व-भेरिएन्ट मिलेर बन्छ ।

अहिले एक्सडी डेल्टा तथा ओमिक्रोन बीए.वानको संयुक्त रुपको खतरा पनि उत्तिकै छ । रिपोर्टअनुसार यसको बढी जोखिम फ्रान्स, डेनमार्क तथा बेल्जियममा देखिएको छ । इम्पिरियल कलेज लन्डनका भाइरोलोजिस्ट टम पिकाकका अनुसार, एक्सडी एकभन्दा बढी देशमा फैलिसकेको छ र यसमा बढी गम्भीर डेल्टा भेरियन्ट पनि मिसिए तनावको स्थिति सिर्जना हुनेछ ।

एक्सएफ ओमिक्रोनको डेल्टा र बीए.वानको संयुक्त रुप हो । यो ब्रिटेनमा देखिए पनि १५ फेब्रुअरीयता भने देखिएको छैन । कोरोना भाइरसको नयाँ भेरियन्ट एक्सईलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चिन्तासमेत जाहेर गरेको छ ।

प्रतिक्रिया