पर्यटकहरुको आगमन बढेसँगै बिस्तारै उक्सिन थाल्यो पर्यटन व्यवसायी : सीईओ रेग्मी
काठमाडौं । कोभिड-१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ । कोभिड-१९ को महामारीका कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटकहरुको आगमन बढेसँगै बिस्तारै उक्सिन थालेको छ ।
न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सोमवार नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताए । छिमेकी देश भारतबाट गत मार्च महिनामा १५ हजार १३ जना पर्यटक आएको उनले बताए । सन् २०१९ को मार्च महिनामा पर्यटकको संख्या १५ हजार ६ सय ६ रहेको पनि उनले जानकारी दिए । बंगलादेशबाट पनि सन् २०१९ को भन्दा बढी पर्यटक भित्रिएका उनले उल्लेख गरे ।
प्रमुख कार्यकारी अधिकृत रेग्मीले सन् २०१९ को तुलनामा एसियन देशहरुमा २.४ प्रतिशतले मात्रै माइनसमा रहेको बताए । एसियन देशहरुमा कतिपय देशहरु नखुलिसकेको र एयरलाइन्स पनि नखुलिरहेको अवस्थामा ति देशहरुबाट अझ पर्यटन आउन बाँकी रहेको उनले बताए । चीन, जापान, मलेसिया, सिंगापुर, कोरिया, म्यान्मार, थाइल्याण्डको केशमा माइनस ९३ प्रतिशत रहेको उनको भनाई छ । अमेरिकाको माइनस ४४ प्रतिशत रहेको तथा युरोपियन देशहरुमा भने ४५ प्रतिशत रिकभर भइसकेको उनले जानकारी दिए । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले समग्रमा पर्यटन क्षेत्र ४५ प्रतिशतले रिकभर भएको बताए । अहिलेकै अवस्थामा अगाडी बढेमा अक्टोवरसम्ममा सन् २०१९ कै अवस्थामा पुग्न सकिने उनले बताए । विशेषगरी बंगलादेश, भारत र श्रीलंकालाई फोकस गरेर मार्केटिङ गर्नुपर्नेमा उनले जोड दिए ।
विदेशी पर्यटकहरुले पोखरालाई मुख्य गन्तव्य बनाएको उनले बताए । धेरैजसो पर्यटकहरु ट्रेकिङमा गएको उनले जानकारी दिए । दैनिक एक सय जना भन्दा बढीलाई ट्रेकिङको लागि इजाजत दिइएको रेग्मीले बताए । पोखरा, धरान, नेपालगञ्ज लगायतका ठुला सहरको अवस्था हेर्दा होटलहरु पहिलेकै अवस्थामा सञ्चालन भइरहेका र होटलहरुले बिजनेश पाइरहेको उनले बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले नेपालको पर्यटन बजार बिस्तारका लागि भारतिय पर्यटलाई सम्मान गर्नुपर्नेमा जोड दिए । भारतिय पर्यटकहरुलाई नेपाल प्रवेश र पैसा सटहीमा सहजता ल्याउनुपर्ने उनले बताए । भारतिय पर्यटकलाई नेपालमा सहजता ल्याउनका लागि नेपाल सरकारले नीतिगत सुधारमा ध्यान दिनुपर्ने उनले बताए ।
भारतिय पर्यटकलाई पर्यटकको व्यवहार गर्न र अनावश्यक दुःख नदिन पनि उनले सरोकारवाला सबैसँग अनुरोध गरे ।
प्रतिक्रिया