निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिन्छाैं : ऊर्जामन्त्री भुसाल

नेपालखोज २०७८ चैत २१ गते १९:४३

काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले अध्यादेश ल्याएर भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने बताएकी छन् । सोमबार काठमाडौंमा जारी हिमालयन हाइड्रो एक्स्पोमा मन्त्री भुसालले निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र अध्यादेश ल्याएर भएपनि दिलाउन सरकार प्रतिवद्ध रहेको बताइन् ।

मन्त्रालयले इजाजतपत्र दिनका लागि कार्यविधि र नियमावली तयार गरेको भएपनि प्रक्रियागत रुपमा कानून मन्त्रालयमा पठाउँदा कार्यविधि बनाएर दिन नपाइने प्रतिक्रिया पाएकाले दिन नसकेको उनले बताइन् । संसद सुचारु हुन नसकेको अवस्थामा अध्यादेशकै विधिमार्फत् भएपनि निजी क्षेत्रलाई विद्युत व्यापारको इजाजतपत्र दिइने उनले बताइन् । उनले भनिन्, ‘हामीले झन्डै तीन महिना लगाएर एकदमै विज्ञ, विशेषज्ञ सबैलाई राखेर अध्ययन गराएर अनि लाइसेन्स दिने कार्यविधि, नियमावली सबै तयार पार्‍यौं । अब हामी एउटा क्यबिनेटमा लगेर ल्याउँछौँ भन्ने बेलामा हामीले अर्थ र कानून पठाउने हाम्रो प्रावधान छ । प्रक्रिया छ ।’

उनले प्रधानमन्त्रीसँग छलफल गरेर समाधानको बाटो खोज्ने बताइन् । उनले भनिन्, ‘कानूनमा गएर हामीलाई दाँतमा ढुंगा लागेको छ कि कार्यविधि बनाएर दिन पाइन्न । ऐनमा छैन । कार्यविधि बनाएर पाइन्न भन्ने उहाँहरुको प्रतिक्रिया छ । त्यसो भएपछि कि अध्यादेश ल्याउनुपर्‍यो । कि अर्को केही विधि खोज्नुपर्‍यो भन्ने छ । मैले यहाँहरुलाई सुरु बाटै भनेको छु, म मेरो बचनमा पुरै प्रतिवद्ध छु । पर्‍यो भने अध्यादेशकै विधिद्वारा भएपनि हामी विद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई दिने कुरामा सरकार, मेरो मन्त्रालय, म पुरै हामी सकारात्मक र प्रतिवद्ध छु । त्यसको समाधान कुनबाटोबाट म प्रधानमन्त्रीज्यूसँग पनि सल्लाह गर्छु । हामी त्यो दिनेछौं ।’

मन्त्री भुसालले घरायसी प्रयोजनमा विद्युतीय उपकरणको प्रयोग गर्नुपर्नेमा जोड दिइन् । पेट्रोलियम पद्धार्थको विकल्पका रुपमा जलविद्युतलाई लिइनुपर्ने उनको भनाई छ । उनले भनिन्, ‘पेट्रोलियम पद्धार्थको बेलगाम मुल्यवृद्धि भइराखेको छ । संसारका कोही देशलाई त्यसको सायदै विकल्प होला, हामी नेपालीसित विकल्प छ । हामिसँग जलस्रोत छ । जलविद्युत छ । त्यसैले यो परिस्थिति भनेको हाम्रो निम्ति अब जलविद्युतको उपभोग गर्ने क्षेत्रको विकास हो यो । दायराको विकास हो । अब हामी घरायसी प्रयोजन, कृषि, सिँचाइ, उद्योगले मागेजति दिने र अब यातायातका साधनलाई पनि विद्युतिय जब गर्छौ हामीले अरु हजार मेघावाट देशभित्रै खपत गर्न सक्ने स्थिति बनेको छ । यो पेट्रोलियम पद्धार्थको मुल्य बढ्नु निश्चय नै चुनौती हो । अप्ठ्यारो कुरा हो । तर हामी नेपालीलाई सकारात्मक योगदान आफ्नै देशको जलविद्युतको उपभोग गर्ने सबै क्षेत्रमा । त्यो नकारात्मक परिघटनाले दिएको सकारात्मक योगदान हो । हामी यसलाई बढावा दिने कुरा, यसलाई प्रश्रय दिने कुरा, राज्यले खरिद गरेर इन्डक्सन बाड्ने हो कि, व्यवसायीहरुले व्यापार गरेर गर्ने हो कि, या अरु कुनै निकायले हो अब हामी घरायसी प्रयोजनमा हामी विद्युतीय उपकरण प्रयोग गर्ने घरभान्सा देखिमा अघि बढ्ने कुरालाई सबैले साझा दायित्वको रुपमा लिनुपर्छ ।’

उनले आगामी आर्थिक वर्षको बजेटमा विद्युतिय उपकरणको प्रयोगलाई बढाउने दिनेगरी नीतिगत रुपमा सम्बोधन गर्ने र बजेटको व्यवस्था गर्ने पनि बताइन् ।

प्रतिक्रिया