जहाँ बेचिन्छन् नेपाली चेलिबेटी
काठमाडौं । पूरा संसारमा महिला शरीरको धन्दा आज पनि जोडतोडका साथ चलिरहेको छ । शरीरको यो धन्दालाइ देह व्यापार पनि भनिन्छ । देह व्यापार महिलाहरुका लागि एउटा कलंक नै हो । त्यसमा पनि महिलाहरुलाइ पुजनीय मानिने समाजमा समेत यसको बजार फल्दो फुल्दो छ । हाम्रो निकट छिमेकी मुलुक भारतमा लामो समयदेखि महिलाहरुलाइ यो काममा लाग्न बाध्य तुल्याइएको छ र दुर्भाग्यवश त्यसमा नेपाली महिलाहरुको उल्लेखनीय उपस्थिति छ । त्यसो त कानुनका दृष्टिमा वेश्यावृत्ति अवैध छ तै पनि भारतमा देह व्यापारको धन्दा रोकिने छाँट छैन । भारतमा केहि ठुला रेड लाइट एरिया छन् जुन एसियामा मात्र होइन पूरै संसारमा चर्चामा आइरहन्छन् ।
पुणेको बुधबार पेठ
महाराष्ट्रको पुणे स्थित बुधबार पेठ भारतको चर्चित रेडलाइट एरिया हो । यहाँ ठुलो संख्यामा नेपाली महिलाहरुलाइ देह व्यापारमा लगाइएको छ । ती महिलामध्ये अधिकांश फकाइ फुल्याइ, झुक्याएर बेचिएर यो काममा धकेलिएका हुन्छन् । अचम्म त के छ भने बुधवार पेठ पुणेको बिख्यात दगडुसेठ गणपति मन्दिर नजिक छ जहाँ बाट मन्दिर जाने – आउने भक्तजनले गुज्रनुपर्छ ।
नागपुर गंगा-जमुना
नागपुर महाराष्ट्रको उपराजधानी हो । नागपुर स्थित गंगा जमुना इलाका देह व्यापारका लागि कहलिएको छ । नागपुर शहरको गंगा जमुना इलाका देहब्यापारका लागि मात्र होइन विभिन्न किसिमका आपराधिक गतिविधिका लागि समेत चर्चामा आउँछ ।
रेशमपुरा, ग्वालियर
मध्य प्रदेशको ग्वालियरमा रेशमपुरा नामको एउटा ठूलो रेडलाइट एरिया छ । भनिन्छ रेशमपुरामा विदेशी युवतिहरुका साथ तथाकथित मोडल , कलेज गर्ल आदि पनि उपलब्ध हुन्छन् । समाचार अनुसार त्यहाँ मोबाइल , इन्टरनेट आदिका माध्यम बाट कलगर्लहरुको बुकिङ हुन्छ । रेशमपुरामा कार्यरत देहब्यापारिहरु ठेक्का वा तलबमा काम गर्छन् ।
इलाहबादको मीरगन्ज
त्यसो त इलाहाबाद गंगा, जमुना , सरस्वतीको पवित्र भुमि मानिन्छ । तीर्थ यात्राका लागि प्रसिद्ध उत्तर प्रदेशको इलाहाबादमा मीरगंज नामको रेड लाइट एरिया छ । यो रेड लाइट एरिया करिब डेढ सय वर्ष पुरानो भएको बताइन्छ । यहाँका पुराना घरहरुले छोपिएको साना गल्लिहरुमा निर्वाध धन्दा चलिरहेको हुन्छ । यो बजारमा महिलाहरु सजिएर सडक किनारमा आउँछन र ग्राहक खोज्ने काम गर्छन ।
दालमन्डी तथा शिवदासपुर, वाराणसी
संसारकै प्राचीन शहर मध्येको एक वाराणसी हिन्दुहरुको पवित्र तीर्थस्थल हो । यहाँको देह व्यापारको इतिहास पनि पुरानै छ । यहाँका दालमन्डि तथा शिवदासपुर जस्ता इलाका देह व्यापारका पुराना क्षेत्र हुन । शिवदासपुर वाराणसी रेलवे स्टेशन भन्दा करिब ३ किलोमीटर टाढा छ । यो युपीको ठुलो रेडलाइट इलाका पनि हो । यसैगरी दालमन्डिको देह व्यापार पनि तमाम कानुनी बन्देजका बाबजुद रोकिएको छैन । दालमन्डिका साँघुरा गल्लिहरुमा घर बाहिर उभिएका युबतिहरुले ग्राहक बोलाएको दृश्य सामान्य नै हो ।
जीबी रोड, दिल्ली
दिल्ली स्थित जीबी रोडको पूरा नाम गारस्टिन बास्टिन रोड हो । यो भारतको राजधानी दिल्लीको सबैभन्दा ठूलो रेड लाइट एरिया हो । सन् १९६५ मा नाम परिवर्तन गरेर यो सडकको नाम स्वामी श्रद्धानन्द मार्ग राखिए पनि धेरैले यसलाई जीबी रोडकै नामले चिन्छन् । भनिन्छ यहाँ मुगलकालमा पांँचवटा रेडलाइट एरिया अर्थात कोठी थिए । अंग्रेजहरुको शाशनकालमा ती पाँच क्षेत्रलाई एक ठाउँमा गाभिएपछि यसको नाम जीबी रोड भयो । जानकारहरुका अनुसार यो देहव्यापारका लागि संसारकै एउटा ठूलो कारोबार स्थल हो जहाँ नेपाल तथा बंगलादेशका युवतीहरु ठूलो संख्यामा तस्करी गरेर पुर्याइन्छन् ।
मुम्बईको कमाठीपुरा
भारतको मायानगरी मुम्बई फिल्म र बिजनेसका लागि कहलिएको छ । यो भारतको आर्थिक राजधानी पनि हो । मुम्बईको कमाठीपुरा क्षेत्रमा भएको रेडलाइट एरिया संसारकै सबैभन्दा ठूलो रेडलाइट एरिया मानिन्छ । भनिन्छ यो एसियाको सबैभन्दा पुरानो रेडलाइट एरिया हो । यहाँ सुरुसुरुमा निर्माण क्षेत्रमा काम गर्ने आन्ध्र प्रदेशका महिलाहरु देह व्यापार गर्थे । १८८० ताका यो क्षेत्र अंग्रेजहरुको मोजमस्ती गर्ने ठाउँ भइसकेको थियोे । एक अनुमानअनुसार यहाँ करिब दुई लाख सेक्स वर्कर परिवार छन् र त्यसमा नेपालबाट बेचिएका चेलिबेटीको संख्या उल्लेख्य छ ।
पश्चिम बंगालका सोनागाछी र खालपाडा
यसैगरी पूर्वी नेपालसँग सीमा जोडिएको भारतको पश्चिम बंगाल राज्यका सोनागाछि र खालपाडा दुईवटा थप ठूला रेडलाइट एरिया हुन् । सोनागाछि बंगालको सदरमुकाम कोलकातामा छ भने खालपाडा सीमावर्ती सहर सिलिगुडीमा छ । यी दुवै रेडलाइट एरिया पनि निकै पुराना हुन् भने त्यहाँ पनि बेचिएका नेपाली चेलिबेटीहरुको उल्लेख्य उपस्थिति छ ।
प्रतिक्रिया