सोमबार, असार ९, २०८२

५ सय कन्टेनर तथा मालवाहक ट्रक अट्ने क्षमता रहेको बन्दरगाह प्रधानमन्त्रीद्वारा उद्घाटन

नेपालखोज २०७८ चैत २२ गते १६:३६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुख्खा बन्दरगाह उद्घाटन गरेका छन् । वीरगञ्ज नाका हुँदै आएको मालबाहक ट्रकलाई प्रवेश गराएर बन्दरगाह सञ्चालनको आरम्भ गरिएको हो ।

बन्दरगाह सञ्चालन गरिएसँगै अब सीमा भन्सार कार्यालयबाट आएका सामान सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपासको लागि बाटो खुलेको छ । यसअघि सडकमै भन्सार जाँचपास हुने गरेकोमा अब मालवाहक सवारी बन्दरगाहमा दर्ता हुने, पार्किङ हुने र आवश्यकताअनुसार गोदामको समेत प्रयोग गर्न पाउने छन् ।

वीरगञ्ज, भैरहवा, तातोपानी र विराटनगरबाट सामान आयात हुँदा त्यहाँको भन्सारमा सामान्य प्रक्रियामात्रै गरेर चोभारको सुख्खा बन्दरगाह ल्याएर भन्सार तिर्न सकिनेछ । ती ठाउँमै भन्सारको सबै काम सकेर सामान आयात हुने गरेको थियो । उपत्यकाभित्रकै पहिलो बन्दरगाह ‘चोभार ड्राइपोर्ट’ सञ्चालनमा आएको हो । वीरगञ्ज नाका हुँदै भारतबाट लोड भएर आएका तीन वटा मालवाहक कन्टेनरको सिल खोल्दै बन्दरगाहको विधिवत रुपमा उद्घाटन गरेका हुन् ।

कुल २२० रोपनी क्षेत्रफलमा बनेको चोभार सुख्खा बन्दरगाह २०७५ असारदेखि निर्माण थालनी भएर २०७८ असारमा सम्पन्न भएको हो । यस बन्दरगाह कुल एक खर्ब ५० अर्ब रुपैयाँ लागतमा तयार भएको हो ।चोभार सुख्खा बन्दरगाहलाई मुख्य गरी तीन भागमा बाँडिएको छ । जसमा तीन मुख्य डिपार्ट तथा भवन निर्माण गरिएको छ । यसमा डिपार्ट भन्सार, डिपार्ट क्वारेन्टिन र अर्को प्रशासनिक भवनका लागि छुट्याइएको छ । बन्दरगाह हाताभित्र छिर्न फेरि तीनवटै मुख्य गेट निर्माण गरिएको छ । समितिका अनुसार एउटा मुख्य गेटबाट मालसामान लोडेड कन्टेनर भन्सारभित्र प्रवेश पाउनेछन् भने अर्कोबाट बाहिरिने छन् । तर बीचमा छुट्याइएको एक गेटबाट भने आपतकालीन अवस्थामा प्रयोग गर्न सकिने गरी वैकल्पिक व्यवस्था गरिएको समितिले जनाएको छ ।

यस बन्दरगाहमा एकैपटक ५ सय कन्टेनर तथा मालवाहक ट्रक अट्ने क्षमतामा रहेको छ । स्थानीयको विरोध र कोरोना महामारीका कारण निर्धारित मितिभन्दा करिब १ वर्ष ढिला बन्दरगाह निर्माण सकिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघ ३ गते बन्दरगाह शिलान्यास गरेका थिए ।

बन्दरगाह निर्माणका लागि सुरूमा छुट्ट्याइएको १ अर्ब ४० करोडबाट १२ प्रतिशत लागत बढेपछि १ अर्ब ६० करोड खर्च भएको छ । निर्माणमा विश्व बैंकले सहयोग गरेको थियो । आशिष र साक्षी ज्वाइन्ट भेन्चरले निर्माणको जिम्मा पाएको थियो । बन्दरगाह बनेको ठाउँमा यसअघि हिमाल सिमेन्टको कारखाना थियो । सिमेन्ट उद्योगको १ हजार ५४ रोपनीमध्ये २ सय २० रोपनीमा बन्दरगाह निर्माण भएको हो ।

निजगढ-काठमाडौं द्रूतमार्ग, भारतसँगको रेलमार्ग, केरुङ रेलमार्ग र बाहिरी चक्रपथसँग जोडिने यो बन्दरगाहमा व्यापारिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । व्यापारीले आफ्नो सामानको भन्सार तिर्न कोलकता, वीरगञ्ज, विराटनगर नगइ चोभार सुख्खा बन्दरगाहबाट नै सबै काम गर्न सक्ने छन् ।

पाँचवटा ब्लकको गोदाम बनेका छन् । १ हजार ३ सय वर्गमिटरमा खुला जाँच क्षेत्र रहेको छ । यस्तै, यहाँ सामान जाँच्ने स्टेसन, लोड-अनलोड, नापतौल र नियन्त्रण कक्ष, पार्किङ तथा सडक निर्माण गरिएको छ ।

प्रतिक्रिया