मंगलबार, जेठ ८, २०८१

बेलायतमा कोभिडका ९ नयाँ लक्षण थपिए

नेपालखोज २०७८ चैत २२ गते २०:५५

काठमाडौं । बेलायतमा कोभिडका नौं नयाँ लक्षणहरू थपिएका छन् । यूकेको हेल्थ सेक्युरिटी एजेन्सीले हालै जारी गरेको निर्देशिकामा कोरोना भाइरस सङ्क्रमणमा घाँटी दुख्ने, जीउ दुख्ने र पखालासहित अन्य लक्षणहरू थपेको हो । महामारी सुरु भएको दुई वर्षपछि इङ्ल्यान्डमा निःशुल्क परीक्षण अन्त्य भएको केही दिनपछि नयाँ लक्षणहरू थपिएको हो । नेसनल हेल्थ सर्भिसेजले भने धेरै नयाँ लक्षणहरू रुघाखोकी र फ्लुका लक्षणसँग मिल्दोजुल्दो रहेकाले होसियार रहन भनेको छ । यसअघि कोभिड संकक्रमणमा निम्न लक्षणहरू देखिने मानिएको थियो :

–ज्वरो
–नयाँ तारन्तार खोकी
–गन्ध वा स्वाद हराउने
महामारीको सुरुवातदेखि नै यी तीनलाई प्रमुख लक्षणहरू भनिएको थियो । विश्व स्वास्थ्य संगठन र अमेरिकाले केही समय यता थप लक्षणहरूसहितको सूची प्रयोग गर्ने गरेको थियो । तर यूकेमा भने कोभिडका कुन–कुन लक्षणहरूलाई प्रमुख मान्ने र त्यसका आधारमा निःशुल्क परीक्षण गर्ने भन्ने विषयमा मतभेद थियो ।

टाउको दुख्ने कोभिडको लक्षण हो । तर टाउको मात्रै दुखेको भरमा कसैले पनि कोभिडको परीक्षण गर्न नचाहने अवस्था हुँदा यस्ता लक्षणलाई समावेश गर्ने कि नगर्ने भन्ने स्पष्ट थिएन । ज्वरो, खोकी र स्वाद वा गन्ध हराउने लक्षणचाहिँ अधिकांश संक्रमणमा देखिने वा कोरोना भाइरसकै कारणले मात्रै हुने हुँदा तिनलाई प्रमुख लक्षण मानिएको थियो । तर अब कोभिडका लक्षणमा यूकेमा निम्न नयाँ नौ लक्षण थपिएका छन् ।

–श्वासप्रश्वासमा असहजता
–थकान
–जीउ दुख्ने
–टाउको दुख्ने
–घाँटी दुख्ने
–सिँगान बग्ने वा नाक बन्द हुने
–भोक नलाग्ने
–पखाला
–बिरामी महसुस हुने

बेलायतमा हालसम्म ४९ लाख मानिसलाई कोभिड संक्रमण भएको छ । जुन प्रति १३ जनामा एकजना बराबर हो । इङ्ल्यान्डमा धेरैजसो मानिसका लागि निःशुल्क परीक्षण गत सातादेखि बन्द गरिएको छ । न्यासनल हेल्थ सर्भिसेजे मानिसहरूलाई कोभिडका लक्षण र ज्वरो देखिए सकेसम्म घरमै बस्न र अन्य व्यक्तिबाट टाढै बस्न सुझाव दिएको छ ।

किङ्स कलेज लन्डनका प्राध्यापक टिम स्पेटरले लामो समयदेखि धेरै कोभिड सङ्क्रमित मानिसहरूको लक्षणहरू अध्ययन गरेका र त्यसका आधारमा लक्षणको सूची बढाउनुपर्ने बताउँदै आएका थिए । –बीबीसी

प्रतिक्रिया