बुधबार, फागुन ९, २०८०

फुलपाती होइन राँगाको मासु भित्र्याईन्थ्यो

सुनील उलक २०८० कार्तिक ४ गते ९:३५

आज दशैको सातौ दिन सप्तमी, यस दिनलाई फूलपाती भन्ने गरिन्छ र फूलपाती भित्राउने गरिन्छ । वास्तवमा भन्ने हो भने खास दशै आजबाट शुरु हुन्छ । जागिरेहरुको छुट्टी पनि आजैबाट शुरु हुन्छ ।

आखिर किन मनाइन्छ फूलपाती

गोरखा राज्य बिस्तार गर्ने अभियानमा लागेका राजा पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि इन्द्रजात्राको दिन उपत्यकामा जीवित देवीको रुपमा पूजिँदै आएका कुमारीको हातबाट टीका ग्रहण गरेर उपत्यकामा रहँदै आएको सामाजिक संस्कार र जीवित देवीलाई पनि स्विकार गरेर उपत्यकाका नेवाःहरुको मन जित्न सफल भएका थिए ।

उनलाई सहजै स्विकार गर्नुको पछाडि अर्को कारण तत्कालिन समयमा कान्तीपुरका राजा जयप्रकाश मल्लसंग आजित भइसकेका थिए । यसरी कान्तिपुरवासीको मन जित्न सफल भए पनि अन्यत्र भने त्यति प्रिय हुन सकेनन् राजा पृथ्वीनारायण शाह ।

कान्तिपुर विजय पछि पाटन र भक्तपुरलाई पनि विजय गरेपछि राजा पृथ्वीनारायण शाहले आफ्नो राजधानीका रुपमा कान्तिपुरलाई नै बनाए । यसपछि गोरखाबाट काठमाडौ सरेका पृथ्वीनारायण शाहले पहिलो दशै काठमाडौमा नै मनाउने भयो । वि.सं. १८२५ मा विजयोत्सवका रुपमा देवी पूजा गर्न उनले गोरखामा रहेको आफ्नो दरवारको मूल दशैघरबाट नै डोलामा राखेर फूल तथा पातीहरु मगाए । यो क्रम आज पनि चलिरहेको छ । गोरखा दरवारको दशै घरबाट डोलामा राखेर फूलपातीलाई त्यतिबेला जसरी राजा पृथ्वीनारायणका गुरूज्यूको पल्टनका सैनिकहरुले बोकेर ल्याएका थिए । साथमा केही पण्डितहरु पनि साथमा आउने गर्दछन् । त्यो चलन अझै पनि रहेको छ । तर केही भिन्न भने भएको छ ।

हनुमानढोका दरवारबाट सैनिकहरु र पण्डित सहितको टोली अघिल्लो दिन धादिङको छत्रे देउराली पुग्दछन् । बिहानै नुहाइधुवाइ चोखो भएर गोरखाबाट ल्याइने फूलपातीको डोलाको प्रतिक्षा गर्दछन् । उता गोरखा दरवाको मूल दशै घरबाट डोला तैयार भए पछि त्यहाँका पूजारीले शुभसाइतमा डोला तथा कलशलाई पठाउने कार्य गरिन्छ । डोला बोक्नका लागि ५ जना मगरहरु खटाइन्छ । छत्रे देउरालीमा डोला आइपुगेपछि डोलाको स्वागत गर्दै पूजा गरिन्छ ।

यसरी पूजा गर्दा निक्खर कालो बोका र भेडाको थुमाको बली दिनुपर्दछ । यसरी पूजा सकिए पछि ति मगरहरुले हनुमानढोकाबाट गएका टोलीलाई टीका लगाइ दिएर डोला दिइ बिदा गरिन्छ । यसरी डोला बोकेर आएको टोली जमलमा पुगेर रोकिन्छ । जमलमा हनुमानढोकाका पूजारी पुगेर शुद्ध जलले डोला पर्सने कार्य गरिन्छ । डोला पर्सिए पछि रातो पहिरनमा सजिएकी १६ महिला सहित मालश्री धुन बजाउँदै हनुमानढोका प्रवेश गराइन्छ ।

यसरी हनुमानढोकाको दशै घरमा भित्राउँदा पनि शुरुमा नासलचोकमा कलशमा राखिएको देवीको पूजा गरिन्छ । यसरी दशै घरमा फूलपाती भित्रिए पछि नै वास्तविकमा दशैको शुरुवात हुन्छ । फूलपाती भित्राउने भनेको गोरखा राज्यको अधिनमा यो क्षेत्र पनि आएको हो भन्न खोजिएको हो । यसरी गोरखाबाट फूलपाती भित्राउने चलनको शुरुवात भए संगै जनतालाई पनि घर घरमा फूलपाती भित्राउन लगाइयो । मल्लकालमा पनि मल्ल राजाहरु पनि मूल पूजा घरमा पत्रिकास्थापना गर्दथे । पत्रिकास्थापनाका रुपमा बिभिन्न किसिमका पातहरुलाई पूजा घरमा राखेर सप्तमीको पूजा आरम्भ गर्दथे । यहिँ मल्लकाल देखिको क्रमलाई नै पृथ्वीनारायण शाहले निरन्तरता दिए पनि फूल तथा पातीहरु भने आफ्नै गोरखाको मूल दशै घरबाट नै ल्याउने प्रचलनको शुरुवात गरे ।

तर नेवास्हरु भने यस दिन राँगोको मासु भित्राउने गर्दछन् । गुठियारहरु मिलेर समुहमा सिङ्गो राँगो काटिए पछि सो को मासु भाग लगाइन्छ । जुन भाग प्रत्येक गुठियारहरुले आ-आफ्नो घर लग्ने गर्दछन् । यसरी ल्याइएको राँगोको मासु घरको मूलढोकामा पुगेपछि सिधै प्रवेश नगरि एकैछिन मूल ढोकामा मासु बिसाइन्छ ।

त्यसपछि भागबाट सानो सानो तीन टुक्रा मासु निकालिन्छ । एक टुक्रा मासु मूल ढोकाको दाँया, अर्को एक टुक्रा बाँया तथा तेश्रो टुक्रा शिरबाट पछाडी फेकिन्छ । दाँया र बाँया चढाउने भनेको पितृ तथा देवदेवीलाई हो भने शिरबाट पछाडि चढाइने पिखालखुःलाई हो । जसले हाम्रो घरको रक्षा गर्ने गर्दछ । त्यसपछि बल्ल मासु बोकेर घर भित्राइन्छ । यसरी मासु भित्राइए पछि बल्ल मोहनी नखः को शुरुवात भएको आभास हुन्छ ।

तर यो चलन धेरैजसो ठाउँमा हराइसकेको छ । गुठीयारहरु मिलेर राँगो काट्ने चलन पनि निकै कम भेटिन्छ । बरु बजारमा गएर मासु किनेर ल्याउने चलन भने सबैतिर भइसकेको छ । तस्विर नेवास्हरुको गुठीको मासु भाग लगाएको होइन । तर यो प्रतिकात्मकका रुपमा यहाँ देखाइएको मात्र हो, यसरी नै भाग लगाउने गर्दथे ।

प्रतिक्रिया